युद्धमा १४ हजार २ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी
प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार
रुसले युक्रेनमा आक्रमण गर्न थालेको आज तेइसौँ दिन हो। युक्रेनका रक्षामन्त्रीले अहिलेसम्म अनुमानित १४,२०० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
दुवै सेनामा भएको मानवीय क्षतिको विवरण पुष्टि गर्न निकै कठिन छ। किनभने रुस र युक्रेन दुवैले निकै फरक सङ्ख्या बताउने गरेका छन्। मार्च ३ मा रुसले आफ्ना ४९८ सैनिकको मृत्यु भएको जनाएको थियो। तर त्यसपछि रुसले हताहत हुने सैनिकको तथ्याङ्कबारे रुस मौन छ।
अमेरिकी अधिकारीहरूले झन्डै ७,००० रुसी सैनिकको मृत्यु भएको हुनसक्ने बिहीवार बताएका थिए। उनीहरूका अनुसार घाइते हुने रुसी सैनिकको सङ्ख्या १४,००० जति हुनसक्छ। युक्रेनले रुसी पक्षमा आफूले पुर्याएको क्षतिको विवरणमा यस्तो दाबी गरेको छः
४५० वटा ट्याङ्क ध्वस्त
९३ वटा विमान ध्वस्त
११२ हेलिकप्टर ध्वस्त, ४३ वटा विमानभेदक प्रणाली बिगारिएको
तर यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।