रुस-युक्रेन युद्ध वार्ताबाट रोकिएन भने यो ‘तेस्रो विश्वयुद्ध’मा परिणत हुनेछ : जेलेन्स्की
प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमण अन्त्य गर्न वार्ता असफल भएमा यो ‘तेस्रो विश्वयुद्ध’मा परिणत हुने बताएका छन् ।
आइतबार समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताए । उनले यो युद्धको अन्त्यका लागि वार्ता नै एक मात्र उपाय भएको विश्वास व्यक्त गरे ।
‘मलाई लाग्छ कि हामीले संवादको सम्भावनाको लागि जुनसुकै ढाँचा, कुनै पनि अवसर प्रयोग गर्नुपर्छ,’ जेलेन्स्कीले भने।
यद्यपि, जेलेन्स्कीले युक्रेनले रुस प्रायोजित पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिनुपर्ने कुनै पनि सम्झौतालाई स्वीकार नगर्ने स्पष्ट पारे। युक्रेनी राष्ट्रपतिले आफ्नो देश नेटो संगठनको हिस्सा भएको भए ‘यो लडाइँ सुरु हुने थिएन’ भन्ने विश्वास व्यक्त गरेका छन् ।
‘यदि नेटोले हामीलाई गठबन्धनमा सामेल गर्न चाहन्छ भने तुरुन्तै त्यसो गर्नुहोस् ,किनभने यस युद्धमा हरेक दिन धेरै मानिसहरू मरिरहेका छन्,’ उनले भने।