कँडेल र शर्माको ‘गठबन्धन राजनीति’ पुस्तकमा के छ ?
प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार
नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका बेला स्थापित पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति(चुनावी तालमेल, संयुक्त सरकरा र बाह्य अनुभव, वाम वर्चस्व, आवश्यकता र सम्भावना) नामक सामयिक पुस्तक प्रकाशित भएको छ ।
पुस्तकमा नेपालमा २००७ देखि २०७४ सम्मका विभिन्न संसदीय र गठबन्धन सरकार तथा संसदको मिहिन विश्लेषण गरिएको छ । गठबन्धन राजनीति नामक पुस्तकमा राजनीति, विचारधारा, राजनीतिक दर्शन जस्ता विषयमा समेत बौद्धिक विश्लेषण रहेको छ भने युरोपेली देशका साथै दक्षिण एशियाली ८ वटै देशमा बन्न पुगेका गठबन्धन सरकारहरुको समेत चर्चा गरिएको छ ।
गठबन्धन राजनीति र गठबन्धन सरकार अलग अलग भएको विषयमा सैद्धान्तिक व्याख्यासहित नेपालमा गत कालमा बनेको बाम गठबन्धन र त्यसको दुर्घटनाका कारणहरुको विस्तृतमा विश्लेषण गरिएको छ । वाम गठबन्धन दुर्घटनामा परेपछि फेरि नेपालमा शुरु भएको अराजनीति गठबन्धनको तथ्यगत रुपमा आलोचना गरिएको छ । त्यसो त पुस्तकले ऐतिहासिक पृष्ठभूमि सहित नेपालमा हाल अराजनीतिक, नेताकेन्द्रित र केवल कुर्सीका लागि मात्र गठबन्धन गर्ने हानिकारक प्रवृत्ति बढेको दृष्ट्रान्तलाई उधिनिएको छ ।
वाम गठबन्धन, नेकपाको सरकार र संसदको विघटन तथा नेकपा नै विघटन भएको घटनाले नेपालको राजनीतिमा दीर्घकालसम्म कसरी असर गर्ने छ भन्ने समेत पुस्तकले मसिनोगरी विश्लेषण गरेको छ ।
यस पुस्तकमा नेपाल र छिमेकी देशहरुका बनेका गठबन्धन सरकार, वामपन्थीहरुको अवस्था, नेपालको संसदमा महिलाहरुको सहभागित र संघीयता तथा नयां संविधानको व्यवस्थाका कारण गठबन्धनप्रतिको राजनीतिक झुकावलाई एक सय भन्दा बढी तालिका मार्फत स्पष्ट गरिएको छ ।
नेपालमा स्थानीय निकायको सुरुवातदेखि हालसम्म भएका निर्वाचन र तिनमा विभिन्न राजनीतिक दलले प्राप्त गरेको हैसियत तथा ०७४ को स्थानीय तहको निर्वाचन र त्यो निर्वाचनमा विभिन्न दलहरुले प्राप्त गरेको नतिजा तथा उनीहरुको मत र प्रतिद्धन्दीसंगको मतअन्तर समेत यस पुस्तकमा समेटिएको छ । नेपालमा स्थानीय चुनावको माहोल तातिरहेका बेला यस पुस्तकको अनुसूचीमा ७५३ तहमा गत निर्वाचनमा पहिलो दोस्रो र तेस्रो हुने उमेद्वारले प्राप्त गरेको मत र मतान्तरले अहिलको सभ्वाति अवस्था बुझ्नलाई समेत सघाउन पुग्ने देखिएको छ ।
विभिन्न १४ खण्ड र ५ अनुसूची रहेको पुस्तकको अनुसूचीमा गठबन्धन सरकारभित्र एमसीसी प्रकरणले पारेको प्रभावका सन्दर्भमा नेपालका नेताहरु र एमसीसी बीच भएका पत्रको आदन प्रदान तथा संसदले पारित गरेको व्याख्यात्मक टिप्पणीलाई समेत राखिएको छ । पुस्तकमा एमसीसी प्रकरणमा नेपालमा देखिएको सत्ता गठबन्धन र प्रतिपक्षका बीचको तनाव, चीन र अमेरिका बीचको टकरावले नेपाली राजनीतिलाई तरंगित बनाएको विषयलाई विस्तृतमा व्याख्या गरिएको छ ।
त्यसो त अनुसूचीमा राखिएको १६५ निर्वाचन क्षेत्र र ७५३ तहको विगतको चुनावी नतिजा र पहिलो देखि तेस्रो हुने उमेद्वार र दलले प्राप्त गरेको मतको तालिकाले आगामी निर्वाचनहरुका सन्दर्भमा र दलको हैसियत बुझ्नलाई समेत निके सहयोगी हुने देखिएको छ ।
‘एउटै दलको बहुमतीय सरकार गठन हुने अवस्था र बढी सम्भावनालाई ती देशको निर्वाचन प्रणाली र राजनीतिक दलहरुरुको प्रभावले प्रभावित गर्दछ । ब्रिटेन र भारतमा पहिलो हुने निर्वाचित हुने प्रणाली रहेको संसदीय निर्वाचन प्रणाली छ । जहाँको संसद्मा सामान्यतया एउटा दलको बहुमत प्राप्त हुनसक्ने अधिक सम्भावना हुनसक्ने आँकलन गरिएको हुन्छ । ठीक त्यसैगरी नेपालजस्तो मिश्रित निर्वाचन प्रणाली रहेको देशमा एक दलको बहुमत प्राप्त हुनसक्ने सम्भावना निकै न्यून रहेको हुन्छ । तर पनि पछिल्लो समयमा बेलायत र भारतजस्ता वा डेनमार्क, जर्मनीजस्ता देशहरुमा पनि एक दलको बहुमत प्राप्त हुने अवस्था कमजोर भएर गठबन्धन सरकार बन्ने प्रवृत्ति देखिएको छ ।
नेपालमा २०७२ सालको संविधानभन्दा पहिले अथवा २०६३ को अन्तरिम संविधान लागू हुनुभन्दा पहिले एफपीटीपी प्रणाली रहेको संसदीय व्यवस्था थियो । २०४८ देखि २०५६ सम्मका तीनवटा निर्वाचनमा दुईपटक एउटा दलको बहुमत र एकपटक कुनै पनि दलले संसद्मा बहुमत प्राप्त गर्न नसकेको अवस्था थियो । ठीक त्यसैगरी भारतमा सन् १९५३–१९७७, १९८०–१९८९ सम्म एक दलको बहुमत र त्यो बीच र त्यसपछिको अवधिमा सन् २०१४ सम्म कुनै पनि दलले संसद्मा बहुमत हासिल गर्न नसकेको त्रिशंकु संसद्को अवस्था थियो ।
संसद्मा एउटा दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा संयुक्त गठबन्धन सरकार बन्ने गर्दछ । तर गठबन्धन सरकारहरु अस्थिर हुने, जनतामा राजनीति र व्यवस्थाप्रति वितृष्णा फैलिने, राज्यको अनावश्यक व्ययभार बढ्नेजस्ता साझा विकृतिका कारण चुनावपूर्व राजनीतिक गठबन्धनको अभ्यास भारतमा सन् १९९९ देखि व्यवस्थितरुपमा सुरु भएको पाइन्छ । त्यसैगरी नेपालमा सन् २०१७ को सङ्घीय तथा प्रदेश निर्वाचनमा चुनावपूर्व वाम गठबन्धन बनेको घटना ताजै छ ।
यसका अलवा चुनावपछि सरकार गठनका सन्दर्भमा गठबन्धन बन्ने प्रक्रिया त संसदीय व्यवस्थाको सुरुआतदेखि नै प्रचलनमा आएको थियो । त्यसबाहेक राष्ट्रिय सङ्कट वा राष्ट्रिय विषयहरुलाई निक्र्यौल गर्नुपर्ने अवस्थामा विशिष्ट किसिमले राजनीतिक गठबन्धन बन्ने गरेको हुन्छ । जस्तो बेलायतमा बे्रक्जिट मामिलाका सन्दर्भमा र नेपालमा नयाँ संविधान जारी गर्ने बेला सन् २०१५ मा भएको राजनीतिक गठबन्धन विशिष्ट खालका मुद्दा केन्द्रित राजनीतिक गठबन्धन हुन् ।
‘गठबन्धन राजनीतिको विशेषता विचारधारा नभएर व्यवहारवाद हुने गर्दछ । यस्तो राजनीतिक समायोजन गर्दा सम्बन्धित राजनीतिक दलका सिद्धान्तहरु पन्छाएर राख्नुपर्छ‘ । यस्तो परिवेशमा संसदीय व्यवस्था कति सफल ढंगले कार्यान्वयन हुने गर्दछ वा विश्वव्यापी चलेको उदार संसदीय लोकतन्त्र र बदलिरहने निर्वाचन प्रणालीका सन्दर्भमा गठबन्धन राजनीति र गठबन्धन सरकार कति प्रभावकारी बनेका छन् र त्यस्ता सरकारहरु गठन भएका सन्दर्भमा नेपालमा गरिएको अभ्यास, उद्देश्य र राजनीतिक संस्कृतिका बारेमा यस पुस्तकमा बहस गरिएको छ । विशेषगरी नेपालमा सन् १९५० देखि यता भएका संसदीय निर्वाचन र ती निर्वाचनहरुमा भएका गठबन्धन, गठबन्धन सरकार र विभिन्न समयमा राजनीतिक मुद्दाका आधारमा भएका गठबन्धन र तिनको औचित्यका बारेमा विभिन्न तथ्यांकसहित यस पुस्तकमा छलफल गरिएको छ ।‘ लखकद्धयले पुस्तकको भूमिकामा उपरोक्त दृष्ट्रान्तलाई औंल्याएको छन् ।
नेपालमा गठबन्धन सरकार, गठबन्धन राजनीति, गठबन्धनका स्वाभाविक तथा अस्वाभाविक राजनीतिक आयाम र अभ्यास तथा गरिनुपर्ने सुधार तथा गठबन्धन संस्कृतिको यथाशक्य विश्लेषण गरिएको छ । गठबन्धन सरकार बन्ने र भत्किने, राजनीतिक दलहरुको स्वघोषणा र त्यसप्रतिको बेइमानी तथा मुद्दा विशेषभन्दा शक्तिमा पुग्ने अराजनीतिक प्रवृत्तिको तुलनात्मक अध्ययन गरिएको छ । साथै दक्षिण एसियाली देशहरुमा भएको गठबन्धन राजनीति र संस्कारको परम्परा, पश्चिमी प्रजातन्त्रको अनुभव र अभ्यासका आधारमा समकालीन राजनीतिक व्यवस्था र निर्वाचन प्रणालीका सन्दर्भमा नेपालमा कस्तो खालको गठबन्धन सरकार र राजनीतिक गठबन्धन आवश्यक हुनसक्छ भन्नेबारेमा केही सुझाव र निष्कर्ष अघि सारिएको छ ।
पुस्तकमा अलिक विस्तृत रुपमा २०७४ सालको स्थानीय निर्वाचन, त्यो निर्वाचनको नतिजाका आधारमा बनेको वाम गठबन्धन र वाम गठबन्धनको दुर्दशामाथि विशेष चर्चा गरिएको छ । पुस्तकमा अलिक बढी अन्य देशहरुमा भन्दा नेपालको राजनीतिमा रहेको वाम वर्चस्वका कारण सुरुदेखि वामपन्थी पार्टीहरुको घोषित उद्देश्य, वाम दलहरुको सरकारमा संलग्नता, वाम राजनीतिक सरकारसम्बन्धी आदर्शमा उत्पन्न स्खलित प्रवृत्ति र अपनाउनुपर्ने सावधानीका बारेमा तुलनात्मक विश्लेषण गरिएको छ । अघिल्ला निर्वाचनहरुका नतिजा र आगामी दिनमा हुने निर्वाचनमा बन्न सक्ने सम्भावित चुनावी गठबन्धन र प्राप्त गर्नसक्ने नतिजाका सन्दर्भमा बृहत् वाम गठबन्धन र डेमोक्रेटिक गरी दुईखाले गठबन्धन राजनीतिको विकास हुने सम्भावनालाई तथ्यसहित पुस्तकले प्रस्तुत गरेको छ ।
पुस्तक लेखनको उत्प्रेरणा गत कालमा निर्माण भएको वाम गठबन्धन र त्यसको दुर्दशा तथा अराजनीतिक गठबन्धनको बोझिलो राजनीतिक वातावरण भएको लेखकद्धयले दावी गरेका छन् । विभिन्न विश्वविद्यालयका स्नातकोत्तर तहमा गर्ने गरेको सौखिन अध्यापन, अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनका सन्दर्भमा समकालीन राजनीतिक प्रणाली र चुनावी लोकतन्त्रका विषयको सामग्री खोजी गर्दाको अभावलाई पनि पूरा गर्न यो पुस्तक लेखिएको शुभशंकर कंडेलको दावी छ ।
लेखकमध्ये कँडेलको अवतरण ९नेपालमा सशस्त्र संघर्ष, राजनीतिक रुपान्तरणमा विवाद र एमाले–माओवादी एकता० – २०७५ को पूरक पुस्तकका रुपमा समेत काम गर्ने दावी गरेका छन् पुस्तक तयार गर्न युरोपेली देशहरुमध्येको विकसित र बढी सन्तुलित मानिएको डेनमार्कको शासकीय प्रणालीको परिपक्वता, भारतीय विद्वान् आशीष नन्दी, नवमाक्र्सवादी राजनीतिशास्त्री इसाही बर्लिन, नोम चोम्स्की, डेनिस काडिमा, मिसेल फुकोका शक्ति र सत्ताजस्ता रचनाहरुले बढी प्रभाव परेको समेत लेखकद्धय बताएका छन् ।
सम्भवतः नेपालको राजनीतिशास्त्रको अध्ययनका सन्दर्भमा गठबन्धन राजनीति सम्वन्धी यो पुस्तक नै पहिलो हो ।