श्रीलंका : हिंसा भड्काउने देख्नेबित्तिकै गोली हान्न रक्षा मन्त्रालयको आदेश


प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार

श्रीलंकाको रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा जीवनलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न आदेश जारी गरेको छ। अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा आन्दोलनले हिंसात्मक रुप लिँदै दंगाको रुप लिइरहेको छ ।

देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले भने, “सुरक्षा बलहरूलाई सार्वजनिक सम्पत्ति लुट्ने वा जीवनमा क्षति पुर्‍याउने जोसुकैलाई देख्नेबित्तिकै गोली हान्ने आदेश दिइएको छ।”

वास्तवमा त्यसको एक दिनअघि मात्रै आन्दोलनकारीको एक समूहले सत्तारुढ दलका नेताहरुको घरमा निशाना बनाएर आगजनी गरेको थियो । राष्ट्रपतिको सरकारी निवास वरपरका क्षेत्रमा समेत आगजनी गरिएको थियो । अब अवस्थालाई ध्यानमा राख्दै देशको सेना र प्रहरीलाई आपतकालीन अधिकार दिइएको छ ।

सेनाका लागि यी नयाँ आपतकालीन शक्तिहरू भनेको सेनाले मानिसहरूलाई प्रहरीलाई सुम्पनु अघि २४ घण्टासम्म थुनामा राख्न सक्नेछ भने निजी सवारीसाधनलगायत व्यक्तिगत सम्पत्तिमा जुनसुकै बेला खोजी गर्न सकिनेछ।

देशमा इन्धन, खाद्यान्न, औषधि र आधारभूत वस्तुको चरम अभाव छ, जसका कारण आम जनता एक महिनाभन्दा बढी समयदेखि राजापाक्षे परिवारविरुद्ध कोलम्बोको सडकमा उत्रिएका छन् । गत सातासम्म अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि पछिल्ला केही दिनदेखि प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

प्रदर्शनकारीहरुले देशमा देखिएको भयावह आर्थिक संकटका लागि राष्ट्रपति गोताबाया राजापाक्षे जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

यसअघि सोमबार उनका भाइ तथा देशका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आफ्नो पदबाट राजीनामा दिएका थिए । तर यो राजीनामाले आक्रोशित आन्दोलनकारीको आक्रोश शान्त पार्न सकेन ।

मंगलबार सरकारले ‘कसैको ज्यान जोखिममा पार्ने व्यक्तिले सुरक्षाकर्मीलाई सीधै गोली हान्न सक्ने’ अधिकार सुरक्षा निकायलाई दिएको छ । राजधानी कोलम्बोको सडकमा दशौं हजार सेना, नौसेना र वायु सेनाका सैनिकहरू तैनाथ गरिएको छ, जसले शहरमा गस्ती गरिरहेका छन्।

कोलम्बोको ग्लास फेस ग्रीन पार्कमा प्रदर्शनकारीहरू ठूलो संख्यामा भेला भइरहेका छन्। प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । –एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com