प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान
प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गर्नुभएको छ ।
उहाँले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गर्नुभयो । मतदान गर्नुअघि उहाँले मतदानस्थलको अवलोकन गर्नुभएको थियो ।
निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।
निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।