राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान
प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाँले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुग्नुभएको थियो । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ ।
निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।
निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।