निर्वाचन आयोगले सोध्यो डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण
प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार
मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ ।
डा भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । डा भट्टराईले आज बिहान मतदान गर्ने क्रममा गोप्य मतदान गर्ने ठाउँबाट निर्वाचन चिह्नमा छाप लगाएको फोटो खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको थियो ।
मतदानप्रश्चात् डा. भट्टराईले मतदान गोप्य हुनुपर्छ भन्ने नभएको जिकिर समेत गर्नु भएको थियो । । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो।मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन।गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ?,’ उहाँले ट्विटरमार्फत भन्नु भएको छ ।
निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । डा. भट्टराईलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।उहाँलाई भाइबर मार्फत स्पष्टीकरण पठाइएको आयोगले जनाएको छ।