अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी
प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार
–पूर्णप्रसाद मिश्र/
कुनै समय राजा महाराजादेखि सर्वसाधारणलाई स्वदेशमै औषधि उत्पादन गरी निरोगी र स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सिंहदरबार वैद्यखाना आज आफैँ बिरामीले थला परेको छ । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको वैद्यखानामा तीन महिनादेखि काम ठप्प छ ।
काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन् र हाजिर गरेर फर्कन्छन् । औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला व्यवस्थापनले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका छन् । व्यवस्थापनले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने भन्दै काम नभएको बेलामा पनि तलब खुवाएर राखिरहँदा संस्थाको आर्थिक अवस्था धराशयी बन्दै गएको छ ।
कुनै समय वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्ने गरेकामा अहिले च्यवनप्रास बाहेकका उत्पादन पाइँदैन । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब पनि पाएका छैनन् । तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका छन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त प्रबन्ध निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आए पनि कुनै सुनुवाइ भएको छैन ।
समितिको बिक्री कक्षमा काम गर्नुहुने आदित्य ठाकुर छ महिनादेखि शिलाजित सकिएको बताउनुहुन्छ । बिक्री कक्षमा दैनिक २५ जना मानिस शिलाजित लिन आउँथे । ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो । औषधि खोज्न आउनेलाई समितिले रित्तै फर्काउने गरेको छ ।
धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको पनि सात महिना पूरा भएको उहाँले सुनाउनुभयो । यस्ता धेरै औषधि सकिएको महिनौँ बिते पनि उत्पादनको वातावरण बनाउन समिति व्यवस्थापनले ध्यान दिएको छैन । “औषधि भएका बेला बिल काट्न र बिरामी जाँच्न फुर्सद हुँदैन थियो, अहिले काम नभएर हल्लिएर समय बिताउनुपरेको छ, उत्पादन र बिक्री नहुँदा तलब पनि समयमा पाइएको छैन”, ठाकुरले भन्नुभयो ।
वैद्यखानामा उत्पादन घटेर कर्मचारीलाई तलब एवं अवकाश पाउनेले नियमानुसार पाउने उपदानका लागि पनि पैसा नहुने भएपछि कर्मचारीले २०७८ साउन २४ गतेदेखि अवकाश कोष खडा गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिने गरेका छन् । अवकाश कोष खडा गर्न माग राखेर धर्नामा बसेको एक वर्ष हुन लाग्दासमेत माग पूरा भएको छैन ।
विसं २०७७ चैत ३१ गतेदेखि समितिका निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत डा सबरी साह भने उत्पादन रोकिएको एक महिना मात्र भएको दाबी गर्नुहुन्छ । त्यसअघि थोरै भए पनि औषधि उत्पादन भएको उहाँले सुनाउनुभयो । गत भदौमा औषधि बनाउने कच्चापदार्थ ल्याउन बोलपत्र गरेपछि अर्का व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरेपछि प्रक्रिया रोकिएर अहिले उत्पादन बन्द हुने अवस्थामा पुगेको भनाइ निमित्त कार्यकारी निर्देशक साहको छ ।
गत वर्ष कोरोना महामारी फैलिएपछि च्यवनप्रासको माग बढेको थियो । माग पूरा गर्न समितिले गत कात्तिक ३० गतेदेखि च्यवनप्रास बनायो । अहिले त्यही एउटा च्यवनप्रास बेचेर समिति बसेको छ । अरू उत्पादन भण्डारगृहमा रित्तिन थालेपछि बनाउने प्रक्रिया सुरु नगर्दा समितिमा अहिले औषधि किन्न जाने सर्वसाधारण र थोक बिक्रेता रित्तै फर्कन बाध्य हुने गरेका छन् । विगतमा दैनिक रु एक लाखको औषधि बिक्री गर्ने समितिमा अहिले रु दुई हजारको बिक्री हुन पनि मुस्किल पर्ने गरेको छ ।
समितिमा २०६६ देखि २०७० को बीचमा डा सन्तोष ठाकुर कार्यकारी निर्देशक हुँदा शिलाजितको टेन्डर भएको थियो । त्यसपछि बोलपत्र हुन नसक्दा अहिले अभाव भएको हो । त्यसबेला रु एक करोड शिलाजित ल्याइएको थियो । हालै तीन हजार किलोग्राम शिलाजित ल्याउन टेन्डर गरिएको छ ।
उत्पादन र बिक्री नभएका कारण गत चैतदेखि तलब खुवाउन नसकिएको निमित्त कार्यकारी निर्देशक साहले स्वीकार गर्नुभयो । विसं २०७७ मा जारी भएको समितिको गठन आदेशमा कम्तीमा दुई महिनामा एकपटक सञ्चालक समितिको बैठक बस्नुपर्ने व्यवस्था छ । समितिमा अनेकौँ समस्या आउँदा चार महिनामा पनि बैठक बस्न नसकेको कर्मचारीको गुनासो छ ।
समितिका समस्या लिएर पटकपटक स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायमा गए पनि समस्या समाधान हुन नसकेको कर्मचारी केशव शर्मा पौडेलले जानकारी दिनुभयो । औषधि उत्पादनको कच्चापदार्थ ल्याउन साउन महिनामा गरिनुपर्ने बोलपत्र अझैसम्म हुन सकेको छैन ।
राजा प्रताप मल्ल (विसं १६९८–१७३१) को पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्देश्यले वैद्यखानाका रूपमा स्थापना भएको थियो । शाहकालमा हनुमानढोका दरबारमा राखिएको यस वैद्यखानालाई जङ्गबहादुर राणाको पालामा थापाथली सारिएको । पछि चन्द्रशमशेरले सिंहदरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’को नामले परिचित यो संस्था २०५२ मा विकास समितिबाट सञ्चालित यो संस्था नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी निकाय हो ।
गठन आदेश परिवर्तन गर्दा समस्या
विसं २०५१ को गठन आदेशानुसार काम गर्दा समितिमा समस्या देखिएको थिएन । विसं २०७५ मा विकास समिति ऐनअन्तर्गत गठन भएका सबै समिति विघटनको निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । त्यसबेला सिंहदरबार वैद्यखाना विकास समिति विघटन हुन पुग्यो । लामो वादविवादपछि २०७७ सालमा आएको गठन आदेशमा पहिले जति व्यवस्था पनि नहुँदा समस्या आएको हो ।
गठन आदेशमा ११औँ तहको कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ तर समितिको अध्यक्ष नै स्वास्थ्य मन्त्रालयका १०औँ तहका कर्मचारी नियुक्त गरिँदा ११औँ तहका कार्यकारी निर्देशक आउन मानेका छैनन् । समितिमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका उपसचिव पदेन सदस्य रहने व्यवस्था हटाइएपछि सरोकार भएका निकायका प्रतिनिधिको अनुपस्थितिमा काम गर्न अप्ठ्यारो भएको कर्मचारीको गुनासो छ । समिति सदस्यमा निजीस्तरका आयुर्वेदिक औषधि उत्पादनकर्ता र क्लिनिक सञ्चालकलाई राख्न थालेपछि समस्या आउन थालेको हो । स्वार्थ बाझिने व्यक्तिलाई समिति सदस्य बनाउँदा कार्यालयको काम प्रभावित हुने गरेको उनीहरुको भनाइ छ ।
रु एक करोडको कोष गायब
समितिको नाममा बैङ्क अफ काठमाडौँ लुम्बिनीमा राखिएको रु एक करोड गायब भएको भन्ने विषयले यतिबेला कर्मचारीबीच हल्लीखल्ली मच्चिएको छ । बैङ्कको मुद्धति खातामा राखिएको रकम कहाँ गयो भन्ने बारेमा जानकारी माग गरे पनि व्यवस्थापनले जवाफ दिएको छैन ।
अवकाश कोषमा राख्ने भनिएको रु एक करोड एनआइसी एसिया बैङ्कमा स्थानान्तरण गरी गायब बनाइएको हुनसक्ने कर्मचारीको भनाइ छ । समितिका निमित्त कार्यकारी निर्देशक साह आफू आउनुअघिको विषय भएकाले आफूलाई रु एक करोडका विषयमा थाहा नभएको बताउनुहुन्छ । समितिका लेखा अधिकृत रामप्रवेशप्रसाद जयसवाल भने रु एक करोड स्थानान्तरण गरी कार्यालयका नियमित काममा खर्च गरिएको दाबी गर्नुहुन्छ । त्यसबेला आफू लेखा अधिकृतको जिम्मेवारीमा नभएकाले यसको विस्तृत जानकारी भने आफूसँग नभएको उहाँको भनाइ छ ।
कोरोनाकालमा माग धान्नै थियो मुस्किल
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा विभिन्न जडीबुटीबाट बनेका औषधिको माग बढेको थियो । आयुर्वेदिक गुणले युक्त वनस्पतिको संरक्षणका लागि औषधि प्रवद्र्धन गरिनुपर्नेमा अहिले खस्कन थालेकामा गुर्जोलगायत वनस्पतिको प्रचारप्रसारमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवट चिन्तित हुनुहुन्छ ।
हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मी राजलवटको गुनासो छ ।
आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने आयुर्वेद चिकित्सकको भनाइ छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुरमा कोरोनाको दोस्रो लहरका बेला २०७८ सालमा ६५ जना कोरोना सङ्क्रमित राखी आयुर्वेद औषधि दिइएको थियो । कोरोना महामारीको पहिलो चरण विसं २०७७ मा पनि सयौँ कोरोनाका बिरामी केन्द्रमा राखेर आयुर्वेद औषधि नै दिएर उपचार गरेर पठाइएको थियो । अस्पताल, तालिम र अनुसन्धान केन्द्र भएकाले दिइएका औषधिका विषयमा अनुसन्धानसमेत गरियो । केन्द्रले सीमित स्रोत, साधनका आधारमा गरेको अनुसन्धानले नेपाली वनपाखाकै जडीबुटीले कोरोना लागेकालाई फाइदा गरेको कार्यकारी निर्देशक डा रामआधार यादवले सुनाउनुभयो ।
कोरोनाकालमा केन्द्रमा आउने कोरोना बिरामीलाई गुर्जो, सुठो, मरिच, पिप्ला, अभ्रकभष्मलगायत आयुर्वेदिक वनस्पतिको ट्याबलेट बनाएर नियमित खुवाउने गरिएको थियो । केहीलाई भने अक्सिजनसमेत दिइएको थियो । कोरोनाकालमा केन्द्रमा भर्ना भएका कोरोनाका बिरामीको निधन नभएको कार्यकारी निर्देशक डा यादवले जानकारी दिनुभयो ।
कोरोनाकालदेखि नै रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बजारमा बढ्न थालेको छ । कोरोनाकालमा सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको गुर्जो चिया, तुलसी चिया, शिलाजित, च्यवनप्रास, अश्वगन्ध तेल, अविपत्तिकर चूर्ण लगायतको माग बढेको थियो । स्वास्थ्य विपत्तिका बेला बढेको आयुर्वेदिक औषधिको मागअनुसार उत्पादन गर्नुपर्ने समिति निरन्तर ओरालो लाग्न थाले पनि सरोकार भएका निकायको ध्यान जान नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ ।