धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए समृद्धिको अर्थ छैन : अध्यक्ष ओली


प्रकाशित मिति : जेष्ठ २२, २०७९ आईतबार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए विकास र समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल महिला सङ्घले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “वातावरणीय पक्षमा ध्यान दिन नसिकए विकास हुनुको मात्रै कुनै अर्थ हुँदैन । मानिस निरोगी रहन सकेनन् भने समृद्धिलाई उनीहरूले उपयोग गर्न सक्दैनन् ।” उहाँले आफू सरकारको नेतृत्वमा रहँदा सन् २०२० मा ‘हिमाल र वातावरण’ विषयमा सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराउनुभयो । उक्त कार्यक्रम कोभिड–१९ का कारण स्थगन भएको थियो ।

अध्यक्ष ओलीले जापानले आणविक रेडियनबाट उत्पन्न विकिरणको संसर्गबाट देखिएका गम्भीर रोगहरूको सामना गर्नुपरेको सन्दर्भबारे चर्चा गर्दै धर्तीमा वातावरणको स्थायी प्रदूषणको प्रवृत्ति बढ्दै जाने र प्रतिरोधको क्षमता कम हुँदै जाने हो भने मानव सभ्यतामा चुनौती खडा हुने बताउनुभयो ।

सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्यअन्तर्गत वातावरण एक प्रमुख लक्ष्य रहेको र हिमालहरूको देश नेपालले विश्वका लागि हिमालको महत्वबारे बुझाउन आफूले विश्वका मञ्चहरुमा कुरा उठाउने गरेको स्पष्ट गर्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com