बलात्कृत भएका महिलालाई प्रचलित कानुनले न्याय दिन सक्दैन : संयोजक देबी खड्का
प्रकाशित मिति : असार ४, २०७९ शनिबार
द्वन्द्वकालमा भएको बलात्कारको घटनामा पीडितलाई न्याय दिलाउनका लागि पीडितहरूबाटै यसको समाधान खोजिनु पर्छ । उनीहरूले भोगेको पीडाबाट उनीहरू कसरी मुक्ति चाहन्छन् भनेर सोध्नुनै उत्तम विधि हुन सक्छ । अर्को कुरा,व्यवस्था परिवर्तनको लडाईंमा सहिद, बेपत्ता तथा अंगभंग हुनेको जति ठूलो योगदान छ, त्यसबेला बलात्कृत हुने महिलाको पनि त्यति नै योगदान छ भन्ने कुरा राजनीतिक नेतृत्वले पनि बुझेन । आज द्वन्द्वमा यौनहिंसा उन्मुलनको लागि अन्तराष्ट्रिय दिवसका अवसरमा ,द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक तथा पूर्वमन्त्री देवी खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :
द्वन्द्वकालमा बलात्कारमा परेका दिदी–बहिनीहरूले अहिलेको प्रचलित कानुनबाट न्याय पाउने सम्भावना कति देख्नुहुन्छ ?
प्रचलित कानुन अनुसार बलात्कारका घटनामा संलग्नलाई अदालतको कटघरामा उभ्याउनका लागि ३० दिने हदम्याद दिइएको थियो, जुन हाल एक वर्ष बनाइएको छ । तर, तपाईं आफैँ कल्पना गर्नुस् कि जेलभित्र आएर बलात्कार गर्न सक्नेले मुद्दा दायर भएको थाहा पाउनेबित्तिकै पीडितलाई गलाउन कुन हदसम्मको शक्तिको प्रयोग गर्ला ? अथवा पीडकको शक्तिको आँकलन हुँदाहुँदै पीडितले मुद्दा दायर गर्ने आँट कतिसम्म जुटाउन सक्लान् भन्ने पनि उत्तिकै महत्वपूर्ण प्रश्न हो । यसका साथै झण्डै दुई दशकभन्दा अघि द्वन्द्वकालमा बलात्कृत भएका महिलालाई प्रचलित कानुन अनुरूपनै न्याय दिन सकिन्छ त ? पक्कै सकिँदैन । त्यसैले त्यतिबेला बलात्कृत भएका महिलाहरूलाई न्याय दिनका लागि सरकारले नयाँ शिराबाट सोच्नुपर्ने हुन्छ ।
राज्यसँग तपाईहरुका मुख्य मागहरु के के रहेका छन् ?
द्वन्द्वमा बलात्कार पीडित महिलाको दुई महिला अगाडी सम्पन्न राष्ट्रिय भेलालेतय गरेका मागहरु छन् । पहिलो, १० वर्षे द्वन्द्वका समयमा बलात्कार भएको घटनालाई राज्यले सार्वजनिक रुपमा स्वीकार गर्नुपर्ने, उजुरी दर्ताको लागि छिटो भन्दा छिटो सहज वातावरण तयार हुनुपर्यो, दर्ता भएका बलात्कारका घटनाहरुको लंैगिकमैत्री वातावरणमा, प्रभावकारी छानविन गरी सत्य तथ्य स्थापितगर्दै सोको जानकारी पीडितलाई दिनुपर्ने, नेपालको कानुनको हदम्याद हटाइ अन्तराष्ट्रिय कानुनसँग मिल्ने गरी ,स्वास्थ्य उपचार, राहतप्याकेज, परिपुरण,संरक्षण र सुरक्षाको आवश्यक व्यवस्था, पीडितका बालवच्चाहरुको लागि शिक्षासहित राज्यद्धारा संरक्षकत्व प्रदान गर्नुपर्ने लगाएतका ९ वटा मागरहेका छन । यी बिषयलाई राज्यले कसरी लिन्छ, त्यो अनुसार बाँकी माग वा आन्दोलनका कार्यक्रम घोषणा गर्दै जान्छौँ ।
यसको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग बनेको छ नि ?
द्वन्द्वकालकै मुद्दालाई हेर्ने गरी गठन भएको सत्य निरूपण तथा मेलमिलाप आयोगबाटै यो समस्याको समाधान पहिल्याउन सकिन्छ । तर, हामीलाई लाग्छ बलात्कार जस्तो जघन्य मानवीय अपराधको छिनोफानो गर्न यो आयोग सक्षम छैन । यसका केही कारण छन् । पहिलो, संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको हैसियतका आधारमा तिनै राजनीतिक दलको कोटा प्रणालीबाट आयोगमा विज्ञहरूको नियुक्ति गर्ने गरिन्छ । यसरी नियुक्त हुने जो–कोही पूर्ण क्षमताका साथ जागिर खान सक्षम हुन्छन् । तर, न्याय दिन सक्ने ल्याकत राख्दैनन् । राजनीतिक दलको कोटाबाट नियुक्त भएपछि त्यस्ता व्यक्तिको जवाफदेहिता पीडितप्रति नभई राजनीतिक दलप्रति हुने गर्छ । यो आफैमा समस्या समाधानको विकल्प नभई लिङ्गरिङ गर्ने औजार बन्न पुग्छ ।
दोस्रो, सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वका क्रममा ५ हजारदेखि ५० हजार करोडसम्मको क्षतिको मूल्यांकन पनि गर्ने, बेपत्ता पारिएका र हत्या गरिएकाहरू घटनाको निरूपण पनि गर्ने तथा बलात्कार पीडितलाई पनि यसैले न्याय दिन्छ भन्नु आफैँमा हास्यास्पद तर्क हो । बलात्कार जस्तो जघन्य मानवीय अपराधदेखि घर क्षति भएको सामान्य घटनालाई एउटै आयोगबाट टुङ्गयाउन खोज्नु भनेको विषयको गम्भीरतालाई नबुझ्नु हो । त्यसैले आयोगको म्याद सात वर्षदेखि सात सय वर्षसम्म थप गरियो भने पनि यसले समाधान दिन सक्दैन ।
द्वन्द्वकालमा भएको बलात्कारको घटनामा पीडितलाई न्याय दिलाउनका लागि पीडितहरूबाटै यसको समाधान खोजिनु पर्छ । उनीहरूले भोगेको पीडाबाट उनीहरू कसरी मुक्ति चाहन्छन् भनेर सोध्नुनै उत्तम विधि हुन सक्छ ।
घटनामा परेका महिलाहरुले अहिले झेल्नु परेका समस्या के–के रहेछन्, संगठनमा छलफल गर्नु भएको होला नि ?
छलफल हुन्छ, धेरैका मिल्दाजुल्दा समस्याहरु छन् । अहिले झल्नु परेका मुख्य समस्या भनेको मानसिक र शारीरिक स्वास्थ्यको समस्या । चरम आर्थिक अभाव । बलात्कारबाट जन्मेको सन्तानको जन्मदर्ता, नागरिकता नहुनु । अधिकांश महिलाको पाठेघरमा समस्या देखिनु (द्धन्द्धकालमा बलात्कृत महिलाहरूमध्ये झन्डै ९०–९५ प्रतिशतको पाठेघर फाल्नु पर्ने खस्ने समस्या छ) । सामाजिक रूपमा तिरस्कारको शिकार हुनु ।
द्वन्द्वकालमा भएका बलात्कार जस्ता जघन्य अपाराधका घटनामा राज्यको नजर अहिलेसम्म पनि किन परेन जस्तो लाग्छ ?
हो, राज्यको नजरमा त्यो प्राथमिकतामा परेन । यो दुई कारणले हो एउटा हाम्रो समाज पितृसतात्मक अर्धसामन्ति समाज थियो । जुन परम्पराले महिलाहरूलाई पुरुषको उपभोग्य वस्तुको रुपमा परिभाषित गर्यो । तसर्थ राज्यले माया गरेको, हिंसा पीडित महिलाहरुलाई, यिनको बर्बाद हुन्छ, यिनिहरु बिक्दैनन्, भोलि ग्राहकहरुले यिनिहरुलाई प्राथमिकतामा राख्दैनन् पुरुष ग्राहक भए, महिला वस्तु भयो । त्यसो हुनाले यिनको बर्बाद नगर्दिम भनेर एउटा संस्कृतिले काम गरेको छ जस्तो लाग्छ । अर्को महिला हिंसा पीडित आफैले पनि खुलेर मलाई यो हिंसा भएको हो मेरो दोष होईन दोषीहरुलाई कारबाही गर भन्ने कुरामा संगठित रुपमा आवाज उठाउने अवस्था मानसिक, पारिवारिक र सामाजिक अवस्थाको कारणले गर्दा भएन । मुख्यत यहि दुई वटा कारणले गर्दा यत्रो समयसम्म ओझेलमा प-र्यो यो घटना जस्तो लाग्छ । अर्को कुरा,व्यवस्था परिवर्तनको लडाईंमा सहिद, बेपत्ता तथा अंगभंग हुनेको जति ठूलो योगदान छ, त्यसबेला बलात्कृत हुने महिलाको पनि त्यति नै योगदान छ भन्ने कुरा राजनीतिक नेतृत्वले पनि बुझेन ।
घटनाका प्रकृतिहरु कस्ता—कस्ता खालका रहेका छन् ?
घटना निकै कहाली लाग्दा र दर्दनाक छन् । म यहाँ एक दुई वटा मात्र घटना सुनाउँ । एउटा १२ वर्षको नानीलाई माओवादीको नाममा गिरफ्तार गरेर सेना र प्रहरीले एउटा मात्र होइन, प्रहरी चौकी र व्यारेक गरेर ६ वटामा पुर्याएर पटक—पटक त्यो पनि १४ महिनासम्म सामूहिक बलात्कार गरेका छन् । अर्को, एक जना दिदीलाई २५/२६ महिनासम्म आँखामा कालो पट्टी बाधेर हिरात र ब्यारेका बारम्बार सामूहिक बलात्कार गरिएको छ । कतिपय महिला लडाकुलाई त जेलमै बलात्कार गरेको घट्नाहरु पनि छन् । जेल सुरक्षित ठाँउ हो । तर, त्यहाँ पनि सुरक्षाकर्मीहरु गएर बलात्कार गरेको घटनाहरु छन् । कतिपयलाई तारेखमा बोलाएर बलात्कार गरिएको छ । आमा र छोरीसँगै राखेर सिनियर प्रहरीले आमालाई र जुनियर प्रहरीले छोरीलाई बलात्कार गरेका आमा छोरीनै जीवित हुनुहुन्छ । उहाँहरुले त अपराधी चिन्नुहुन्छ ।
तपाईहरु अहिले आएर संगठिन हुनुपर्ने आवश्यकता किन ठान्नुभयो ?
संगठित हुनुका २ वटा कारणहरु छन् । एउटा राज्यले विर्स र माफिदिऊ भन्ने नीति लियो, हामी माफि दिन त सक्छौ तर पीडितहरुको सम्पूर्ण जिम्मेवारी राज्यले लिएको खण्डमा मात्र । अहिले यत्तिकै त सोच्न सक्दैनौ । बिर्सने त कुरै हुँदैन ।
नेपालको सामाजिक परिघटनाको एउटा ऐतिहासिक घटना हो, यसकारण यो घटना नेपालको इतिहासमादर्ज हुनुपर्छ । त्योबेला गणतन्त्र रोज्ने कि तेरो इज्जत ? भनेर पुलिस सेनाले धेरै दिदी बहिनीहरुलाई आफ्नो कस्टडिमा राखेर यस्तो घटना घटाईएको हो । अर्को, हाम्रो शरिर मात्र थियो, पछि नयाँ ढङ्गले मन पलाएको हो, नयाँ ढङ्गले भावना पलाएको हो, नयाँ ढङ्गले हाम्रो जीवनचित्र कोर्न सफल भएका हौ ।
यो मुलुकमा परिवर्तनको निम्ति कसैलाई गोली लाग्यो, कोही घाइते भए तर उसको त मासुमा लागेको चोट हो हाम्रो त आत्ममा र स्वाभिमानमा लागेको चोटको इतिहासमादर्ज हुनु पर्दैन ? युद्धको बेला भएका जघन्य अपराधका घटनाहरु शासकहरुले स्विकार गर्नुपर्छ, नैतिक हिसाबले माफि माग्नुपर्छ र सम्मान दिनुपर्छ भन्ने हाम्रो सोच हो । यसका साथै हाम्रा मागहरु प्रधानमन्त्री शेर बहादुर देउवालाई लिखित रुपमा बुझाएका पनि छौँ ।
द्वन्द्वकालमा बलात्कारमा पर्नुभएका महिलाहरुको कुनै तथ्यांक छ कि ?
तथ्यांक छ, तर पूर्ण छैन् त्यसको लागि जिल्ला जिल्लामा संठगित हुने र तथ्यांक पनि संकलन गरिरहेका छौँ । हामीसँग कुनै स्रोत साधन छैन, तर हामीसँग एउटा भावना छ हामी देशभरिका हिंसा पीडित महिलाहरु एक हुनुपर्छ एकअर्काको सम्पर्कमा रहनपर्छ, एक अर्कोलाई सहयोग गर्दै समाजलाई परिवर्तन गर्नको निम्ति हिजो पनि योगदान ग¥यो अब पनि गर्नुपर्छ भन्ने सोचका साथ लागेका छौँ ।
आज द्वन्द्वमा यौनहिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस हो, यो अवसरमा के भन्नुहुन्छ ?
जहाँ द्वन्द्व हुन्छ त्यहाँ बलात्कारका कहाली लाग्दा घटनाहरु भएका छन् । अहिले पनि युक्रेन र रसियाको युद्धमा पनि धेरै यौनहिंसा भईरहेको भन्ने कुरा आईरहेको छ । द्वन्द्वमा जितेको पक्षले कब्जामा लियो भने पुरुषहरुलाई दास बनाउने र महिलाहरुलाई रखेल बनाएर राख्ने, आफ्नो यौन उपभोगको साधन बनाएर राख्ने गरेको पाईन्छ । यो समाजमा हुने र भैरहेको सबैभन्दा ठूलो अपराध हो । यस अपराधविरुद्ध हामी पीडितमात्र होइन,समाजका हरेक सचेत नागरिकले आवाज उठाउनुपर्छ ।
-एनबिएन (रिता बोलखे, प्रमिला कार्की र सविता नयाँजुले लिएको अन्तरवार्ता)