प्रधानमन्त्रीबाट संसदीय समितिको अपमान भयो : सभापति निरौला


प्रकाशित मिति : असार ५, २०७९ आईतबार

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई छल्ने क्रमलाई निरन्तरता दिँदै आज अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा समेत अनुपस्थित भएका छन् ।

यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद छलेका थिए ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाएका छन् ।

प्रधानमन्त्रीको जवाफ सुन्न विहान समयमै बैठक कक्षमा पुगेका सांसदहरूलाई समितिका सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको जानकारी दिइन् ।

सभापति निरौलाले नै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा पत्र पाए पनि विभिन्न कारणले समितिमा आउन नसकेको जवाफ पाएको बताएकी छन् । सभापति निरौलाले प्रधानमन्त्रीको तर्फबाट आएको गैरजिम्मेवार जवाफलाई समितिको अपमान भनेकी छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com