बङ्गलादेशमा हजारौं रोहिंग्या शरणार्थीद्वारा प्रदर्शन, ‘घर फिर्ता’ गरिदिन आग्रह


प्रकाशित मिति : असार ५, २०७९ आईतबार

पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बङ्गलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् ।
दक्षिणपूर्वी बङ्गलादेशको कोक्स बजार नजिकै रहेको ३४ वटा शिविरहरूमा बाँस र त्रिपालको झुपडीमा बस्दै आएका उनीहरूले शिविरमा बस्दा रोजगारी, सरसफाइ र शिक्षाको पहुँचका लागि समस्या भएको बताउँदैै स्वदेश फिर्ता गरिदिनका लागि माग गरेका हुन् ।

अगस्ट २०१९ मा भएको करिब एक लाख जनाको बृहत् प्रदर्शनपछि उनीहरूलाई कोभिड–१९ सङ्क्रमणको समयलगायतका कारण देखाउँदै बङ्गलादेशको प्रशासनले शिबिर वरपर भेला हुन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो । अधिकारीहरूले रोहिंग्या समूहहरूलाई सोमबारको विश्व शरणार्थी दिवसभन्दा अगाडि एकैसाथ ‘घर फिर्ता जान’ पाउने माग राख्दै प्रदर्शन र भेला आयोजना गर्न अनुमति दिएका बताइएको छ ।

रोहिंग्या समुदायका प्रमुख नेता सैयद उल्लाले प्रदर्शनपछि आयोजित एक भेलालाई सम्बोधन गर्दै भन्नुभयो, “हामी शिविरमा बस्न चाहँदैनौं । शरणार्थी हुनु सजिलो छैन । यो नरक हो । अब अति भो । घर फर्किऔँ ।”

सन् २०१८ मा म्यानमारमा रोहिंग्या मुसलमानहरूको हत्या र जबरजस्ती सामूहिक प्रस्थानमा संयुक्त राष्ट्रसंघीय तथ्य पत्ता लगाउने अभियानका अनुसन्धानकर्ताहरूले म्यानमारका सर्वोच्च सेनापतिहरूमाथि मानवता र जातीय संहारविरुद्ध अपराधका लागि अनुसन्धान र अभियोगको लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बङ्गलादेश र म्यानमारका विदेश सचिवहरूले करिब तीन वर्षमा पहिलो पटक बैठक आयोजना गरी गत हप्ता छलफल गरेपछि र विश्व शरणार्थी दिवसको अवसर पारीे आइतबारको प्रदर्शन भएको हो । बङ्गलादेशको विदेश मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार उक्त बैठकका क्रममा ढाकाले यस वर्ष रोहिंग्या शरणार्थीहरूको पुनः स्थापनाको लागि म्यानमारको सैन्य सरकारलाई दबाब दिएको थियो ।

नाम उल्लेख नगर्ने शर्तमा उहाँले भन्नुभयो, “यस वर्ष मनसुनपछि कम्तीमा पनि सीमित परिमाणमा पुनः स्थापना सुरु हुनेमा हामीले विश्वास लिएका छौँ ।” प्रहरीले बताएअनुसार साना केटाकेटीलगायत हजारौं शरणार्थीहरू सडक र गल्लीमा उभिएर ‘अब अति भो, घर जाऔं’ भन्दै प्रदर्शनमा सहभागी भएका थिए ।

“मेरो अधिकार क्षेत्रअन्तर्गत रहेका शिविरहरूमा भएको भेलामा १० हजारभन्दा बढी रोहिंग्याले भाग लिएका थिए,” प्रहरी अधिकृत नाइमुल हकले विश्वकै सबैभन्दा ठूलो शरणार्थी बस्ती कुटुपालोङलाई संकेत गर्दै एएफपीसँग भन्नुभयो । प्रहरी तथा आयोजकहरूले कम्तीमा २९ शिविरहरूमा भएका छुट्टाछट्टै भेलामा एक लाख भन्दा बढी रोहिंग्या शरणार्थीले भाग लिएको बताए ।

कुनै पनि हिंसा रोक्न प्रशासनले शिविरहरूमा अतिरिक्त सुरक्षा तैनात गरेको बताउँदै हकले भन्नुभयो, “भेला तथा प्रदर्शनहरू ‘शान्तिपूर्वक’ सम्पन्न भएका छन् ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com