ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ३१ घाइते
प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/07/77.jpg?fit=1092%2C827&ssl=1)
सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् ।
आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को २त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।
मलामी बोकेर फर्किंदै गरेको ट्र्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।-फाईल फोटो