बालिका बलात्कारमा महिला नै सहयोगी


प्रकाशित मिति : असार ३२, २०७९ शनिबार

– प्रतिमा सिलवाल/ चितवन

सामान्यतया बलात्कार मुद्दामा अभियोग लाग्ने पुरुष हुन्छन् भने पीडित महिला। चितवनमा भएका बलात्कारका घटनामा भने महिलाको संलग्नता पनि पीडकका रूपमा देखिन थालेको छ।

विशेष गरी बालिका बलात्कारको घटनामा महिलाको संलग्नता बलात्कारका सहयोगीका रूपमा देखिन थालेको हो। जिल्ला प्रहरी कार्यालय चितवनमा परेको जाहेरी मध्ये एउटा घटनामा आफ्नै भाउजुले नन्दलाई बलात्कारको लागि पुरुष भएठाउँ लगेको जाहेरी परेको छ।

भरतपुर १५ घर भएकी सुनार थरकी ३५ वर्षकी महिलाले १२ वर्षकी नन्दलाई बलात्कारको लागि पुरुष भए ठाउँ लगेको जाहेरी परेको छ। पीडितकी आमाले दिएको जाहेरी अनुसार २०७८ सालको साउन ११ गते नन्दलाई माइती लगेकी ३५ वर्षकी महिलाले १२ गते घर लिएर आउनुपर्ने थियो तर उनले आफ्नी १२ वर्षीय नन्दलाई घर ल्याइनन्। माइतीबाट सिधै घर ल्याउनुको सट्टा भरतपुर ७ मा रहेको एक होटलमा पुर्याई सचिन तामाङ र सुनित परियार नामका दुई पुरुषसँग भेटाइन्।

प्रहरीका अनुसार ती महिलाले आफू पनि शारीरिक सम्बन्धको लागि गएको र ती महिलाले आफ्नी नन्दलाई होटलको एक कोठामा लगेर सचिन तामाङ नाम गरेको केटासँग कोठामा छाडेर निस्किएको र सचिनले बालिकालाई बलात्कार गरेको पीडित बालिकाकी आमाले दिएको जाहेरीमा उल्लेख छ।
सोही जाहेरीका आधारमा पीडक भनिएका पुरुष र ती महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई गत असोज १८ गते पुर्पक्षको लागि थुनामा लगिएको छ।

फोटो: दीपेन्द्र ढुंगाना

परिवार भित्र मात्रै होइन छिमेकी महिलाहरूको माध्यमबाटै किशारी तथा बालिकाहरू बलात्कारमा पर्न गएको चितवनमै परेको अर्को उजुरीले पनि देखाउँछ।

जिल्ला प्रहरी कार्यालय चितवनमा त्यस्तै प्रकृतिको जाहेरी गत माघमा परेको छ। उक्त जाहेरी अनुसार भरतपुर महानगरपालिका २४ मा १५ वर्षकी बालिकालाई उनकै घरमा पुरुष पुर्याएर बलात्कार जस्तो अपराधमा एक महिलाले सघाएकी छिन्।

प्रहरीमा बालिकाकी दिदीले दिएको जाहेरी अनुसार बिमला नेपाली नामकी महिलाले घरमा कोही नभएको समयमा गत माघ १ गते संगम सदाशंकर वि.क. नामको पुरुषलाई उनको घरमा पुर्याएकी थिइन्। उनै बिमलाले फकाएर संगम र बालिकालाई उनकै घरको एक कोठमा सुत्न लगाएर बालिकामाथि बलात्कार गर्न सहयोगीको भूमिका खेलेको जाहेरीमा उल्लेख छ।

बलात्कार जस्तो अपराधमा सहयोगी बनेकी उनलाई प्रहरीले थुनामा राखी मुद्दा चलाएको थियो। उनलाई जिल्ला अदालत चितवनले एक लाख रूपैयाँ धरौटी माग गरे पनि तिर्न नसकेपछि बलात्कारको घटनामा सहयोगीको भूमिका खेल्ने बिमला जिल्ला कारागार चितवनमा थुनामा छिन्।

चितवनका प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार बलात्कारको घटनामा सहयोगीको रूपमा संलग्न दुई महिलाको नाम आए पनि बलात्कार उद्योगमा सहयोगी भूमिका खेल्ने अन्य महिला पनि पक्राउ परेका छन्। उनका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षमा बलात्कारका ५९ वटा घटनामा ४४ जना पुरुष पक्राउ परेका छन् भने २ जना महिला पनि अभियुक्तका रूपमा पक्राउ परेका हुन्। यसैगरी बलात्कारको घटनामा तीन जना बालक पनि प्रहरी हिरासतमा छन्। उनीहरू दुबै जना पूर्पक्षको लागि थुनामा छन्।

बलात्कार उद्योगका ९ वटा घटनामा भने ५ जना महिला सहयोगीको रूपमा प्रहरीले पक्राउ गरेको छ। यसैगरी एक जना बालक पनि बलात्कार उद्योगमा पक्राउ परेका छन्। उनका अनुसार साथी, आफन्त वा छरछिमेकको रूपमा बलात्कारको जोखिममा पार्न महिलाहरू पनि सहयोगी हुन थालेका छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com