कांग्रेसका अधिकांश ठूला नेता विगतमा कम्युनिष्ट भएको ओलीको दाबी


प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार

 

नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् ।

विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा आन्दोलनमा सहभागि भएको ओलीको भनाई छ । त्यसैगरी ओलीले गणेशमान सिंह कहिलै पनि कांग्रेस थिएनन् भनेका छन् ।

शहिद गंगालाल श्रेष्ठले खोलेको राजनीतिक संगठन प्रजा परिषदको अगुवाई धर्मभक्त माथेमाले गरेको र त्यसमा गणेशमान सिंह पनि सहभागि भएको ओलीले बताए । त्यसबेला गणेशमान पनि कम्युनिष्ट भएको ओलीको दाबी छ । कांग्रेसको जन्म अखिल भारतीय नेपाली कांग्रेसको नाममा भएको तर पछि गणेशमान सिंहले नाम परिवर्तन गराएर नेपाली राष्ट्रिय कांग्रेस बनाएको ओलीको भनाई छ ।

ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको आरोप पनि लगाएका छन् । सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको आरोप लगाउँदै ओलीले नेताहरुलाई फाँसी दिइँदा वक्तव्यसम्म जारी गर्न नसकेको बताएका हुन् । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा कांग्रेसले नै भीमदत्तको टाउको काटेको ओलीको दाबी छ ।

दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी कांग्रेसले नलिएको पनि उनले बताए । कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भिम नारायण श्रेष्ठहरु सहिद भनेको भए पनि कांग्रेसले उनीहरुलाई नसम्झिने गरेको पनि ओलीको आरोप छ । आन्दोलन सफल हुने देखेपछि कांग्रेस सहभागि भएर जस लिने गरेको ओलीको दाबी छ । पुष्पलालको प्रेरणाबाट नै नेपालको कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थामा आउन सफल भएको ओलीको भनाई छ ।

पुष्पलालका महान शिक्षाबाट प्रेरणा लिएर मुलुकलाई समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुर्याउने संकल्पन लिएको ओलीले बताए । पुष्पलालले जातियताको विरुद्धमा आफ्नो नामको थर लेख्न छाडेको ओलीले स्मरण गराए । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com