कांग्रेस र माओवादीका नेताहरुले नै फोहोर व्यवस्थापनमा अवरोध गरे : बालेन साह


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।

सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाएका छन् । ‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ रु पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ रु’ बालेनले प्रश्न गरेका छन् ।

 

बालेनले फेसबुकमा लेखेको कुरा’….

”फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।

केहिदिन र केहि समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढि प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?

यहाँ केहि कमजोरी, केहि गल्ति भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ । यसका लागि केहि समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।
पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com