बाबुराम र वामदेवलाई चुनाव चिह्न प्रयोग गर्न दिने माओवादी केन्द्रको निर्णय


प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार

आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरिेका छौं, महराले भने ।

भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे छलफल गर्न बाँकी रहेको महराले बताए । उनले दुवै जनाको उम्मेदवारीबारेमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने जानकारी दिए । माओवादी स्थायी समितिको बैठक बुधबार बिहान फेरि बस्ने भएको छ ।

माओवादी केन्द्रका नेता र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू मंगलबार निर्वाचन आयोग जाँदैछन् । दुवै पार्टी एउटै चुनाव चिह्नबाट निर्वाचनमा जाने जानकारी गराउनका लागि आयोग जान लागेका हुन् । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गतेका लागि घोषणा गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com