श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन
प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार
श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ ।
श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिएका हुन । पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि बताए ।
उनी नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए । तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेको डेली मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतलाई उल्लेखगर्दै लेखिएको समाचारमा, गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ । उनको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।
मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार गए, त्यसपछि थाइल्याण्ड हुँदै सिङ्गापुर पुगेका हुन ।
उनले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।