अफगानिस्तानमा बाढीमा परी ९ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

पूर्वी अफगानिस्तानमा रातभरको मौसमी वर्षाले ठूलो बाढीको रूप लिएको छ । बाढीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । बाढीले धेरै घर र गाईवस्तु बगाएको छ । यससँगै खेतीयोग्य जमिन पनि नष्ट भएको छ ।

एसोसिएटेड प्रेसको भिडियोमा अफगानिस्तानको राजधानी काबुलको दक्षिणी भागमा रहेको लोगार प्रान्तको खुशी जिल्लामा बाढी आएपछि मानिसहरूले क्षतिग्रस्त घरहरू मर्मत र सरसफाइ गरिरहेको देखाइएको छ। लोगर प्रान्तको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रमुख अब्दुल्लाह मुफाकरले पानीको सतह बढेपछि कति मानिसको मृत्यु भएको वा कति घाइते भएका भन्ने यकिन नभए पनि बाढीका कारण कम्तीमा नौ जनाको मृत्यु भएको बताए । उनले भने, ‘अहिले यकिन संख्या थाहा छैन । तर, केही शवहरू पानीबाट निकालिएको र शवको खोजी भइरहेको छ ।’

खुशी जिल्लाको इतिहासमा यस्तो बाढी कहिल्यै नदेखेको गाउँका वृद्ध देल आगाले बताए । बाढीले यहाँका जनताका गाईवस्तु, घरघर र खेतबारी सबै नष्ट गरेको छ । उनले अहिले यहाँका जनता घरबारविहीन भएकाले सबै पहाडमा शरण लिएको बताए ।

अफगानिस्तानले धेरै कठिनाइहरूको सामना गरिरहेको छ। भारी वर्षाका कारण आएको बाढीले अफगानिस्तानमा जनजीवन कष्टकर बन्दै गएको छ । गत साता अफगानिस्तानमा भारी वर्षा भएको थियो जसका कारण बाढी आएको थियो । उत्तरी अफगानिस्तानमा बाढीका कारण ३१ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com