‘सडक छेउमा थुप्रिएको फोहर भोलिसम्ममा उठाइसक्छौँ’


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

काठमाडौं महानगरपालिकाले सडकको छेउछाउमा थुपारेर राखिएको फोहर धमाधम उठाउन थालेको छ । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभएपछि थुप्रिएका फोहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँग सहकार्य गरेको छ ।

अहिले काठमाडौंको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फोहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फोहर उठाइने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।

सडकका फोहर उठिसके पछि भने कुहिने र नकुहिने फोहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फोहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् । अहिले दैनिक झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् । गएको शुक्रवारदेखि काठमाडौंबाट नियमित रुपमा फोहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् । दुई महिनादेखि थुप्रिएको फोहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com