कांग्रेसले भनेजस्तो सिट बाँडफाँट गर्न सकिँदैन : माओवादी केन्द्रका महासचिव गुरुङ


प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार

माओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपाेर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले दलका शीर्ष नेताहरूबीच यसै बिषयमा छलफल भइरहेको बताए ।

कार्यक्रममा उनले पार्टीबाट निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया पहिलाको जस्तै हुने बताए । सुरुमा जिल्लाबाट प्रदेशमा दावेदारको नाम सिफारिस हुन्छ र त्यसपछि प्रदेशबाट केन्द्रमा नाम सिफारिस हुन्छ । यही प्रक्रियाबाट आएका मात्रै उम्मेदवार बन्नेछन् । यसरी दावेदारको नाम सिफारिस गर्दा बढीमा तीन जना केन्द्रमा सिफारिस हुनेछन् । सकेसम्म जिल्लाबाट एकै जनाको नाम सिफारिस गर्ने प्रयास हुनेछ । यद्यपि, प्रजातान्त्रिक पक्रिया पनि मानिन्छ । उनले पार्टीका ‘ह्याभी वेट’हरूसँगको प्रतिस्पर्धामा आउनेहरूबीच आपसी सहमतिका लागि प्रयास पनि गरिने बताए । यसमा नेताहरूले सहजै मिलाउने विश्वास लिएको उनको भनाइ छ ।

उनले सत्ता साझेदार गठबन्धतसँगै निर्वाचनमा पनि गठबन्धन हुने दोहोर्ए । तर, कसरी सिट विभाजन हुने भने टुङ्गो नलागेको बताए । तर, कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्याको आधारमा सिट विभाजन गर्न नमिल्ने बताए । उनले भने, ‘अहिलेको परिस्थिति नै अर्कै छ । यसका लागि भिन्न मापदण्ड बनाउनु पर्छ । हामी मापदण्ड बनाउ भनिरहेका छौं । छलफल जारी छ १–२ दिनभित्रै टुङ्गिन्छ ।’ कार्यक्रममा उनले स्वतन्त्र विचार राखेर जोसुकै पनि निर्वाचनमा सहभागी हुन सक्ने बताए । प्रजातन्त्र दलगत विचारका साथै स्वतन्त्र विचारलाई पनि सम्मान गर्नुपर्छ ।

फरक प्रसँगमा उनले पार्टीका पदाधिकारी समावेशी नभएको स्विकारे । उनले भने,‘विकासको यात्रामा, कम्युष्निट पार्टी निर्माणको यात्रामा, विकासको चरणमा, समानुपातिक तथा समावेवीको मुद्दामा अधिकतम रुपमा सम्बोधन गर्न प्रयास गरिरहेका छौं । अहिले पदाधिकारीमा नमिलेको भएपनि तल्लो कमिटीबाट प्रक्रिया चलाईरहेका छौं । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता् गरेका छौं । पदाधिकारीको सवालको सन्दर्भमा, त्यो चाहन्थ्यौं । तर, अहिलेको चरणमा त्यो गर्न सकेनौं ।’
उनले कम्युनिष्ट पार्टीको निर्माण विचारको आधारमा निर्माण हुने कुरा उल्लेख गरे । अहिले आफूहरु त्यही यात्रामा रहेको उनको भनार्य छ । उनले भने,‘हामी त्यो यात्रामा छौं । समावेशिताको सवालको कुरा गर्दा, अझै त्यो विन्दुमा अहिले पुग्न सकिएन । कुनै जिल्लामा घनिभूत पनि हुँदोरहेछ । कतै नहुँदो रहेछ । यो विचारको कुरा हो । विचारको विकासको यात्रा भएको हुनाले समानुपातिक ढंगले नहुने रहेछ । निकट भविष्यमा क्रमशः यो पुर्याउने प्रक्रियामा रहेका छौं ।’

पार्टी निर्माणको प्रक्रिया विशुद्ध रुपमा विचारबाट निर्देशित हुने गुरुङको स्पष्टोक्ति थियो । उनले बेलायत र अमेरिकामा दुई दलभन्दा बढि किन विकास भएन रु भन्ने विषयपनि स्मरण गराएका थिए । उनले अहिलेको निर्वाचन प्रणालीले पनि गठबन्धनको आवश्यकत्ताबोध गरेको सुनाए । उनले भने,‘अहिले एमालेले राप्रपासँग गठबनधनको गरिरहेको छ। अहिलेको विधिले मुलुकको राजनीति गठबन्धनको दिशातर्फ लगिरहेको छ। गठबन्धनको मोडेलमा लगेको छ ।

हामीले यो निर्वाचन प्रणाली फष्ट पोष्ट दि पाष्टको प्रणाली बेठिक छ भनेर भनेका छौं । यसले एक प्रकारले आर्थिक चलखेल बढ्दै जान्छ । व्यापारी, ठेकेदार, दुई नम्बरी वालाहरु मात्रै चुनाव उठ्न सक्ने, साधारण मान्छेले चुनाव उठ्न नसक्ने अवस्था छ । संसद्मा रियल जनप्रतिनिधिहरु आउनेभन्दा पनि पैसाको चलखेल गर्नेहरु आउने देखिन्छ । समयक्रममा सुधार गर्नुपर्छ । अहिले स्थिरता र स्थायित्वको खाँचो छ ।’

उनले अहिले गठबन्धनमा आगामी निर्वाचनको लागि सिटको टुँगो नलागेको स्पष्ट पारे । उनले भने,‘अहिले सहकार्यमा जाँदाखेरि, अहिले नै सार्वजनिक मिडियामा सिटको दाबी गर्न मिल्दैन् । दलहरुको बीचमा यथार्थ अवस्था जेरजस्तो छ, दलको पोजिसनको रेसियोमा, सिट विभाजन गरेर जाने कुरा उठेको छ । संख्याको बारेमा दलका नेताहरुले भनेपछि जानकारी गराउँछौं ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com