महाअभियोग सिफारिस समितिले  निलम्बित प्रधानन्यायाधीश जबरालाई सोधपुछका लागि बोलायो


प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बयान लिने भएको छ । समितिका सभापति रामबहादुर विष्टले चोलेन्द्र शमशेर जबरालाई सोधपुछका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको जानकारी दिए ।

आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबरालाई लगाइएको महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिन राष्ट्रियस्तरका कानुनी र न्यायिक क्षेत्रका संघ संस्थालाई पत्राचार गर्ने र सोका लागि सार्वजनिक सूचना गर्ने समेत निर्णय गरेको छ । थप उजुरी, सूचना वा जानकारी दिनका लागि भदौ १२ गतेसम्म समय तोकिएको छ ।

 

बैठकले आन्तरिक कार्यविधि र समितिको कार्यतालिका पारित गरिएको छ । समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विस्टले जानकारी गराए ।

जबराविरुद्ध २०७८ फागुन १ गते विभिन्न २१ बुँदे आरोपमा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि फागुन २२ गते महाअभियोग सिफारिस समिति बनेको थियो ।

महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com