पाकिस्तानका अर्थमन्त्रीको दाबी- ‘बाढीले १० बिलियन डलरको नोक्सान’


प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार

पाकिस्तानमा बाढीले हंगामा मच्चाएको छ । भीषण बाढीका कारण देशमा धेरै जनधनको क्षति भएको छ । यसैबीच, अर्थमन्त्री मिफ्ता इस्माइलले देशको अवस्थाबारे बयान दिएका छन्। अर्थमन्त्री मिफ्ता इस्माइलले बाढीले देशको अर्थतन्त्रलाई विभिन्न क्षेत्रमा नोक्सान पुर्याएको बताए । उनका अनुसार हालसम्म मुलुकले १० बिलियन अमेरिकी डलर नोक्सानी बेहोरेको छ ।

सञ्चारमाध्यमसँग कुरा गर्दै अर्थमन्त्री मिफ्ता इस्माइलले १० बिलियन अमेरिकी डलरको नोक्सानीको प्रारम्भिक अनुमान रहेको र जग्गा स्तरीय सर्वेक्षण गरेपछि यो सङ्ख्या अझै बढ्न सक्ने बताए। अर्थतन्त्रका प्रत्येक क्षेत्रमा के–कति क्षति भयो भन्ने विवरण अहिले आफूसँग नभएको मन्त्रीले बताए ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बाढी र भारी वर्षाका कारण भएको विनाशका सम्बन्धमा भावी कार्यदिशाबारे छलफल गर्न सोमबार बहुदलीय बैठक बोलाएका छन् । बैठकमा सबै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले बैठकमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको बताए ।

द न्यूजका अनुसार इतिहासकै सबैभन्दा खराब बाढीको सामना गरिरहेको पाकिस्तानमा ५७ लाख (५.७ मिलियन) भन्दा बढी मानिस प्रभावित भएका छन् । गत हप्ता, शाहबाज सरिफ सरकारले आधिकारिक रूपमा देशमा राष्ट्रिय संकटकाल घोषणा गरेको थियो। पाकिस्तानको विदेश कार्यालय (एफओ) का प्रवक्ता असिम इफ्तिखारले शुक्रबार भने – ‘यो पाकिस्तानको लागि ठूलो चुनौतीको क्षण हो, किनकि भारी वर्षा र बाढीले देशका विभिन्न भागहरूमा, विशेष गरी सिन्ध र बलुचिस्तानमा विनाश गरेको छ।’

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com