अमेरिकी चीप निर्माता कम्पनीको सेयर खस्कियो, चीन निर्यातमा नयाँ नियम लगाउने तयारी
प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार
चीनलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ चीपहरु बिक्री गर्ने विषयमा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने आशंकाबीच अमेरिकी चीप निर्माता कम्पनी एनभिडिया र एएमडीको सेयर मूल्य खस्केको छ ।
नयाँ प्रतिबन्धले दुई कम्पनीको लाखौँ डलरको आम्दानीमा असर पर्ने आशङ्का छ । लगत्तै न्युयोर्कमा दुवै चीप निर्माता कम्पनीको मूल्य घटेको थियो । एनभिडियाको सेयर मूल्य ६।६ प्रतिशतले घट्यो भने एएमडीको सेयर मूल्य ३।७ प्रतिशतले घटेको थियो ।
नयाँ लाइसेन्स प्रक्रियाले एनभिडियाको ए १०० र एच १०० चीपको निर्यातमा असर पुग्ने कम्पनीले बताएको छ । चीनमा हुने ४० करोड अमेरिकी डलर बराबरको व्यापारमा असर पुग्ने कम्पनीको भनाई छ ।
त्यस्तै, एएमडीले पनि नयाँ नियम लागू भएपछि चीनमा हुने एमआई २५० चीपको निर्यातमा असर पुग्ने बताइएको छ ।यसअघि युक्रेनमा सैन्य कारबाही सुरु गरे यता दुवै कम्पनीले रुसमा चीपको बिक्रीलाई बन्द गरेका थिए । –बीबीसीबाट