पाकिस्तानमा सेना र आतंककारीबीच भिडन्त, ५ सैनिक मारिए
प्रकाशित मिति : भाद्र २१, २०७९ मंगलबार
पाकिस्तानको उत्तरी वजिरिस्तानमा आतंकवादीसँगको भिडन्तमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आईएसपीआर) ले सोमबार उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा पाँच पाकिस्तानी सैनिक मारिएको जनाएको छ। जियो न्युजको रिपोर्टका अनुसार इन्टेलिजेन्स बेस्ड अपरेशन (आईबीओ) अपरेशनका क्रममा सैनिक र आतंककारीबीच भीषण गोली हानाहान भएको थियो।
इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आईएसपीआर) ले अहिले उक्त क्षेत्रमा उपस्थित आतंककारीहरूलाई हटाउन अपरेशन चलिरहेको जनाएको छ। सेनाको मिडिया शाखाले भन्यो – ‘हाम्रो सेनाले प्रभावकारी रूपमा आतंककारीहरूको स्थान कब्जा गरेको छ। जसका कारण चार आतंककारी मारिएका छन् ।’ यस अवधिमा मारिएका आतंककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो।
आईएसपीआरले भन्यो – ‘मारिएका आतंककारीहरू सुरक्षा बलहरू र निर्दोष नागरिकहरूको हत्यामा सक्रिय रूपमा आतंकवादी गतिविधिमा संलग्न थिए’ । यसबाहेक खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना पनि बढिरहेका छन् । पाकिस्तानी अधिकारीहरूले सबै चौकीहरूमा सुरक्षा व्यवस्था कडा पारेका छन्।
यसअघि अगस्ट १५ मा सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा खुफियामा आधारित कारबाहीका क्रममा एक आतंकवादीलाई मारेको थियो। आईएसपीआरले मीर अली क्षेत्रमा अपरेशनको क्रममा सुरक्षा बल र आतंककारीहरू बीच भीषण गोलीबारी भएको थियो, जसमा एक आतंककारी मारिएको बताएको थियो ।
‘जुनको सुरुमा, आतंकवादीहरूले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलहरूलाई निशाना बनाए, एक पाकिस्तानी सैनिकको मृत्यु भयो,’ – सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले एक विज्ञप्तिमा भन्यो।