नेपालको निजामती प्रशासनलाई धेरै नै सुधार गर्नुपर्ने खाँचो छ : सचिव भट्टराई (अन्तरवार्ता)


प्रकाशित मिति : भाद्र २१, २०७९ मंगलबार

आज निजामती सेवा दिवस । नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभर विभिन्न कार्यक्रमको आयोजना गरि निजामती सेवा दिवस मनाइन्छ । वि.सं. २०१३ साल भाद्र २२ गते निजामती कर्मचारी ऐन जारी भएको सन्दर्भमा २०६१ देखि  निजामती सेवा दिवस मनाईदै आइएको छ ।नेपाल सरकारले यस वर्ष ‘व्यवसायिक र सिर्जनशील प्रशासन – विकास, समृद्धि र सुशासन’ को नारासहित यो दिवस मनाउँदै छ । र, यस दिवसको अवसरमा सरकारले विशेष समारोहको आयोजना गरि प्रत्येक वर्ष सर्वोत्कृष्ट १, उत्कृष्ट १० र निजामती सेवा पुरस्कार ३० जना गरी ४१ जनालाई क्रमशः २ लाख, १ लाख र ५० हजार प्रतिव्यक्तिका दरले पुरस्कार दिने गर्दछ । तर, नेपालमा निजामति कर्मचारीहरुको अवस्था, उनीहरुको भोगेको समस्या र राज्य गर्नुपर्ने सुधारका कामहरुको विषयमा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईसँग खसोखासले गरेको कुराकानीको सम्पादित अंश :

आज निजामती सेवा दिवस । कुरा यहाँबाट सुरु गरौँ, यसको सुरुवात कसरी भएको हो ?
नेपालमा निजामती प्रशासनको काम राज्य स्थापनाबाट सुरु भएपनि २०१३ सालमा निजामती कर्मचारी ऐन जारी भएको थियो । २०१३ साल भाद्र २२ गते जारी भएको सन्दर्भमा २०६१ देखि निजामती सेवा दिवस मनाईदै आइएको छ । सम्पूर्ण निजामती कर्मचारीहरुको एउटा वृद्धि विकास, सेवाको सुरक्षाको सन्दर्भमा एउटा ऐन बनाएर नयाँ सुरुवात भएको अवसरलाई निजामती सेवा दिवस रुपमा मनाईदैँ आईएको छ ।

निजामती कर्मचारीहरुको संलग्न भएर विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरु गर्ने, त्यसैगरि वृक्षारोपण, हाजिरीजवाफ लगाएतका कार्यक्रमहरु गरेर निजामती सेवा दिवस मनाउने गरिन्छ र निजामती सेवा दिवसको अवसरमा सरकारले विभिन्न कर्मचारीहरुलाई विभिन्न किसिमका पुरस्कारहरु प्रदान गर्ने गर्छ । मुलतः निजामती सेवामा रहेका कर्मचारीहरुको एउटा उत्सवको रुपमा यस दिवसलाई लिने गरिन्छ ।

कर्मचारी राज्यको स्थायी सरकार हो, तपाईहरुलाई नै के त्यस्तो समस्या आईलाग्यो, आन्दोलनमा उत्रिनुभएको थियो, । अनि के–के कुराहरु समाधान भए, के हुने अवस्थामा छन् ?
नेपालको निजामती सेवालाई देश संघीय प्रणालिमा गइसकेपछि त्यही अनुरुपको तीन तहमा कर्मचारीहरु रहेका छन् । ती कर्मचारीहरुलाई व्यवस्थापन गर्न र सबै प्रदेश, स्थानीय सेवाको समेत मार्गदर्शन गर्नको लागि संघीय निजामती ऐन आउनुपर्दथ्यो । अहिलेसम्म त्यो निजामति सेवा ऐन लगभग अर्को चुनाव भएर एउटा राजनीतिक स्थितरता भइसकेपछि अर्को चुनाव गर्ने बेलासम्म निजामति सेवा ऐन आउन सकेको छैन् । यो दुर्भाग्यको कुरा हो ।
त्यसैपरिपेक्षमा हामीले संघीयत निजामती ऐन अभिलम्ब जारी हुनुपर्दछ । त्यो निजामती सेवा ऐनमा कर्मचारीको सेवाको सुरक्षा, वृद्धिविकास र पेशागतहित लगाएतका विषयहरुलाई समेत समाहित गरेर आउनुपर्दछ । यसले नेपालको निजामती प्रशासनलाई मार्गदर्शन गर्ने किसिमको हुनुपर्दछ भनेर हामीले माग राखेका छौं । ती माग राखेर हामी विगत लामो समयदेखि यो आन्दोलनमा छौं । हाम्रो मागहरुलाई सुनूवाई हुने गरि निजामति सेवा ऐन आएको छैन् अहिलेसम्म । हामीले अझै पनि सरकारलाई आग्रह गर्न चाहान्छौं, यथाशिघ्र सबै कर्मचारीहरुको माग बमोजिम नेपालको सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्नको लागि निजामति सेवा जारी गरियोस् र सोही अनुरुप प्रदेश र स्थानीय सेवा ऐन पनि जारी गरियोस् हाम्रो माग रहेको छ ।

निजामती कर्मचारीहरु समयमै काम गर्दैनन् । सानो कामलाई पनि घण्टौं लगाईदिन्छन् भन्ने जनताको व्यापक गुनासो छ । कार्यसम्पादनलाई चुस्त, दुरुस्त बनाउको लागि समस्या कहाँ निर छ ?

नेपालको कर्मचारीतन्त्रलाई कर्मचारीहरुले काम गरेनन् , सेवा नागरिक मैत्री भएन्, भनेर जुन प्रश्न उठेको छ, केही हदसम्म यो कुरा हामी नकार्न सक्दैनौं । केही हदसम्म यसमा सत्यता पनि छ । तर यहाँ, नेपालको निजामती सेवालाई जस्तैः विश्वको सबै देशमा भएको सेवा सुविधा र त्यहाँको निजामती प्रशासनलाई दिने मानमर्यादा र एउटा राज्यको तर्फबाट गरिने व्यवहार हुन्छ । त्यो व्यवस्थित हुन सकेको छैन् ।

अर्को कुरा केछ भने, धेरै कर्मचारीहरुले पब्लिकको सेवालाई आफ्नो काम सोचेर काम गर्नुभएको छ । कुनै कुनै कर्मचारीबाट अथवा कुनै कार्यालयमा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिएको छैन् । यसमा विभिन्न क्षेत्रहरु छन् । एउटा मोटिभेसनको पार्ट हो, अलिकति कमजोर छ कर्मचारीमा । अर्को कुरा, सेवाको सुनिश्चितता छैन् । निजामति प्रशासन सम्बन्धि कानूनहरु छिटोछिटो परिवर्तन हुन्छन् । यसले गर्दा अस्थिरता खालको छ । कमचारीप्रति जुन किसिमको नकारात्कम बाहिर छ, त्यति साह्रै पनि होइन् । कर्मचारी आफ्नो क्षमताले भ्याएसम्म काम गरेको पनि छन्, गर्छन् पनि । केही कमजोरीहरु रहेको छ, त्यो स्वीकार्नुपर्छ ।


जिल्लास्तरमा, स्थानीय स्तरमा सबै फ्रन्टलाईनमा बसेर काम गर्ने कर्मचारीहरुले त्यो कुरा भन्नुहुन्न । सेवाग्राही आइसकेपछि आफ्नो काम, आफ्नो क्षमताले भ्याएसम्म कार्यालयको स्रोत साधन, सफ्टेवयर, विभिन्न किसिमका समस्या हुन्छन् । ती समस्याहरुलाई समाधान गर्दै गनुभएको छ । तर, कतिपय ठाउँमा चाँही फाईल घुमाइराख्ने, काम नगर्ने भन्ने खालको छ । त्यो अलिकति कार्यसम्पादन जुन पक्रिया छ । त्यसले गर्दा त्यस्तो भएको हो ।

हाम्रो स्पष्ट मान्यता, सेवाग्राहीलाई कहिले पनि मर्कामा पुर्याउनुहुँदैन् भन्ने हो । उनीहरुलाई सकेसम्म हाम्रो माग के छ भने, सरकारले क्षतिपूर्तिको नागरिक वडापत्र जारी गरोस्, कुनै कर्मचारीले कमजोरी गर्छ भने, कुनै कर्मचारीको कमजोरी र उसले काम नगरेको कारण नागरिको सेवा अवरुद्ध भने क्षतिपूर्ति सरकारले दिने गरि ऐन, मापडण्ड ल्याओस् भन्ने माग पनि छ । हाम्रो सबभन्दा ठूलो र सरोकारको विषय के पनि हो भने हामीले उठाएका केही मागहरु जुन नेपालको निजामति प्रशासनलाई व्यवस्थित गर्नको लागि सरकारले व्यवस्था गरोस् । कर्मचारीहरुलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराओस् तर हामी काम जुनसुकै हालतमा बसेर गर्न तयार छौं, गछौं । र,यो कर्मचारीको तर्फबाट कमजोरी हुने छैन् यस सन्दर्भमा ।

कर्मचारीहरु घुँस बिना काम गर्दैनन् भन्ने कुरा यहाँले पनि सुन्नु भएको होला । कर्मचारीहरु पक्राउ पनि परेका छन् । के निजामति कर्मचारीहरु घुँस बिना काम गर्न नसक्ने नै हुन्, यो विषयमा तपाईको धारणा के छ ?

हाम्रो सामू छर्लङ भएको विषयलाई हामीले नकार्न मिल्दैन् । मैले अघि पनि भने, धेरै कर्मचारीहरु इमान्दार हुनुहुन्छ, लगनशील हुनुहुन्छ, कर्तव्यनिष्ट हुनुहुन्छ, नैतिकवान हुनुहुन्छ र सबै काम गर्नुभएको छ । कुनै पनि क्षेत्रमा कोही नकारात्मक खालको विचार, केही कमजोरी भएका मानिसहरु पनि हुन्छन् । त्यसरी नै थोरै मान्छेहरुले हजारौं कर्मचारीमा २–४ जनाले गल्ती गर्दैमा सबै कर्मचारीहरु गलत छन् भन्ने अर्थ लगाउनुपनि हुँदैन् । केही कमजोरीहरु भएका होलान् । त्यसलाई सुधार गर्नुपर्छ । त्यसको गैरकानूनी काम र नागरिकहरुलाई दुःख दिने काम गर्नेलाई कडाभन्दा कडा कारबाही पनि गर्नुपर्दछ । तर, सबै कर्मचारीहरुले त्यो गरेका छैनन्, इमान्दारी पूर्वक दुर्गम क्षेत्रमा बसेर आफ्नो ज्यानको प्रवाह नगरि सम्पूर्ण आफ्नो जीवन यही सरकारी सेवामा लगाएर काम गरेका कर्मचारी धेरै हुनुहुन्छ । थोरै कर्मचारीको कमजोरीको कारण सबैलाई त्यसरी त्यो आरोप लगाउन मिल्दैन् ।

जनताको गुनासो मात्र होइन, तपाईहरुका पनि समस्या होलान ? अहिले निजामति कर्मचारीहरुले भोग्नुपरेका वास्तविक समस्याहरु के–के छन् ?

अहिलेको संघीय ढाँचाहरुको निजामति प्रशासनको व्यवस्थापन गर्नको लागि कानून बनेको छैन्, एउटा समस्या । त्यसले गर्दा वृद्धिविकासका मार्गहरु अवरुद्ध छन्, केही प्रावधानहरु जस्तै, पहिले राजपत्राङकृत श्रेणीमाआन्तरिक प्रतिष्पर्धाबाट भाग लिने पाउने व्यवस्था थियो, पछि त्यो हटाइयो । बीचमा एउटा २४ (घ)१ भनेर विशेष व्यवस्था बनाइयो, पछि हटाइयो । जसले गर्दा अस्थिरता भयो । जस्तो , अहिले म नियुक्ति भइसकेपछिअब कति वर्षमा मेरो बढुवा हुन्छ । कति वर्षमा म अर्को अफिसमा बढुवा हुन्छु । भन्ने कुरा कर्मचारीहरुलाई नै जानकारी छैन् । यस्ले गर्दा खेरी अस्थिरता छ ।

अर्को कुरा के छ भने, यो सार्क मुलुककै कुरा गर्दा पनि ८ वटा देशहरुको तुलनामा सबभन्दा कम सेवा–सुविधा नेपालमा छ । सेवा सुविधा संसारको सबैभन्दा कमजोर खालको प्रदान गर्ने तर कर्मचारीको कार्यसम्पादन स्तर उच्च खालको खोज्ने हामीले गर्यौ । त्यसलाई बनाउनुपर्ने कुरा पहिल्यै बनाएर उनीहरुलाई काममा लगाएपछि बल्ल नतिजा आउने हो । मनोबल उच्च गराउन सकियो भने काम पनि त्यसै अनुसारको हुन्छ । यतिहुँदा हुँदै पनि कर्मचारीहरुले आफ्नो काम गर्ने सन्दर्भमा आफ्नो कर्तव्य निर्वाह गर्नेबाट चुकेका छैनन् । यि र यस्तै समस्याहरुले गर्दा निजामती प्रशासन व्यवस्थित हुन सकेको छैन् ।

अर्को कुरा, कर्मचारीहरु धेरै जना उपत्यका बाहिर हुनुहुन्छ, देशभरी हुनुहुन्छ । तल्लो तहको कर्मचारी हुनुहुन्छ । तल्ला तहको कर्मचारीहरुलाई उहाँहरुको पिर, मर्का सुनिदिने अथवा सेवासुविधा, विभिन्न किसिमका तालिम, भ्रमणजस्ता कुराहरु सम्बोधन भएको छैन्। केही निश्चित कर्मचारीहरु, सिंह दरबारवरपरमा बस्ने कर्मचारीहरुको पहुँचमा हुने र सबैको नहुँने, यस्ता समस्याहरु पनि छन् । समग्रमा के छ भने सेवा–सुविधा एकदम कमजोर छ । ऐन कानूनहरु अस्थिर खालको छ । मनोबल बढ्ने खालको व्यवहार गरिएको छैन् । यसले गर्दा सेवा सोचे जस्तो भएको छैन् । तैपनि काम भने भएको छ ।

राज्यले तपाईहरुको पक्षमा के–कस्ता कामहरु अगाडी बढाउनुपर्ला ?
नेपालको निजामती प्रशासनलाई व्यापक सुधार गर्नुपर्ने खाँचो छ । जसको लागि नेपालका रहेका कर्मचारीहरुको साझा मनोभावनालाई बुझेर सरकारले यथासम्म छिटो संघीय निजामती ऐन जारी गरोस् । जारी भइसकेपछि विभिन्न किसिमका नियम, कार्यविधिहरु बनाएर कर्मचारीहरुको, जुन अहिले समस्या भोगिरहेका छन् यी कुराहरु जस्तैः सुरुवा प्रणालि चक्रिय र पूर्व अनुमान योग्य होस् । त्यसले मानिसहरु अहिले कुन अफिसमा छ, अर्को वर्ष कुन अफिसमा पुगिन्छ भन्ने जानकारी होस् । सेवासुविधा, विभिन्न किसिमका मौद्रिक र गैरमौद्रिक सेवा सुविधाहरु रहेका हुन्छन् । ती स्ुविधाहरुलाई समयोचित (समय अनुसार)व्यवस्था गरेर कर्मचारीहरुलाई काम पनि धेरै गर्ने गरि काम दिने, दरबन्दीहरु मिलान गरेर उनीहरुको वृद्धि विकास, उनीहरुको सेवासुविधा, कार्यवातावरणलाई मिलाउन सकियो भने कर्मचारीहरुको मनोबल उच्च हुन सक्छ । कर्मचारीहरुलाई काममा लगाउनको लागि सबैभन्दा पहिले उनीहरुले भोगेका पीरमर्कालाई सम्बोधन गर्न जरुरी छ ।

कर्मचारी व्यवस्थापन पहिले भन्दा सुधारिएको हो ? कस्तो फरक पाउनुभएको छ ?
यो सुधारिएको छ भनेर ढुक्क हुने अवस्था छैन् । निजामति प्रशासन जति व्यवस्थापन हुनुपर्ने थियो, त्यो भएकै छैन् । त्यसमा भन्न हिच्चाउनु आवश्यक छैन् । यसलाई एकैचोटी चमत्कारी सुधार गर्नुपर्ने आवश्यक छैन् । तर, केहीकेही सानादेखि उनीहरुका बिदाका कुरा, स्वास्थ्य–उपचार, सन्तति शैक्षिक वृद्धि, आवास, यातायात साथै उनीहरुको अरु वृद्धिविकासको कुराहरु लगाएतका सानासाना कुराहरुलाई सम्बोधन गर्न सकिन्छ भने सुधार गर्न सकिन्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com