आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : बेलायतका राजा चार्ल्स


प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो । राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उहाँले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नी आमालाई आफु र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताउनुभयो ।उहाँले भन्नुभएको छ, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।”

अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुखी रहेको राजा चाल्र्सले सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।“मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ,” उहाँले भन्नुभएको छ ।

एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ । राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दुःख, समस्या आदि कुनै पनि बेला उहाँ विचलित नहुनु भएको राजा चाल्र्सले स्मरण गर्नुभएको छ ।

उहाँले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भएपनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चाल्र्सले उल्लेख गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com