भारतीय सेनाले बिर्सिएको गोर्खा विद्रोहको कहानी, गुरुङ भन्छन् ‘मरेपछि पनि मेरो आत्मा न्यायको लागि भड्किरहनेछ’


प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार

इन्द्रबहादुर गुरुङ सन् १९६२ मा भारतीय सेनामा भर्ती हुँदा २० वर्षका थिए । उनी गोर्खा रेजिमेन्ट ४र३ मा थिए । त्यसको तीन वर्षपछि पाकिस्तानले भारतमाथि आक्रमण गरेको थियो । इन्द्रबहादुर गुरुङ मोर्चामा जानुपरेको थियो । उनले निकै बहादुरीका साथ युद्ध लडे । ६ वर्षपछि सन् १९७१ मा फेरि पाकिस्तानसँग अर्को युद्ध भयो ।

यो युद्धपछि बंगलादेश बनेको थियो । सन् १९७१ को युद्धमा इन्द्रबहादुर गुरुङले जलपाईगुडीमा बंगलादेशीहरूलाई हतियार चलाउन तालिम दिएका थिए । अहिले गुरुङ ८२ वर्षका भइसकेका छन् । उनी पोखरामा बस्छन् । गुरुङ भन्छन्, ‘म भारतीय सेनामा थिएँ, गर्व गर्ने कि आफैसँग रिसाउने ? यो दुविधा लामो समयसम्म रह्यो । तर अहिले कुनै दुविधा छैन । अब म आफैंलाई सोध्छु, किन भारतीय सेनामा भर्ना भएँ ? मेरो जीवनको अन्तिम पल बाँकी छ तर म मरेपछि पनि मेरो आत्मा न्यायको लागि भड्किरहन्छ ।

इन्द्रबहादुर गुरुङले यसो भनिरहँदा उनको बुढेसकालको आँखाबाट यसरी आँसु झरिरहेको थियो कि मानौँ आफ्ना पीडा बयान गर्नका लागि उनी लामो समयदेखि प्रतीक्षामा थिए । आफूलाई सम्हाल्दै गुरुङले भने, ‘भारतलाई आफ्नो मातृभूमि मान्थेँ । जब पाकिस्तानविरुद्ध मोर्चामा गएँ तब थुप्रै पाकिस्तानीलाई खुकुरीले नै भ्याइदिएको थिएँ । त्यो साहस जागिर खानका लागि मात्रै थिएन । भारतीय फौजलाई आफ्नो भविष्य ठानेर काम गरिरहेको थिएँ । तर सन् १९७९ पछि भविष्य मृत्युको प्रतीक्षामा कटिरहेको छ ।’

इन्द्रबहादुर गुरुङले फाइलको एउटा बन्डल राखेका छन् । यी फाइलहरू उनीहरूको लडाईंको प्रमाण हुन् । यी फाइलहरूमा लालकृष्ण आडवाणी, जर्ज फर्नान्डिस, नरेन्द्र मोदी र पूर्व सांसद बैकुण्ठ लाल शर्माका पत्रहरू छन् । तीमध्ये केही पत्रमा गुरुङलाई न्याय दिने आश्वासन दिइएको छ । गुरुङले सन् २०१७ मा प्रधानमन्त्री मोदी, तत्कालीन राष्ट्रपति रामनाथ कोविन्द, तत्कालीन विदेशमन्त्री सुषमा स्वराज र तत्कालीन रक्षामन्त्री निर्मला सीतारमणको कार्यालयमा गएको तर कसैसँग पनि भेट्न नपाएको गुनासो गरे ।

सन् १९७९ मा के भएको थियो ?

सन् १९७९ जनवरी ८ तारिख । लेहस्थित गोरखा रेजिमेन्ट ४/३ मा प्रोमोशन क्याडेटको उद्घाटन समारोह थियो । कुल ४५ जवान उपस्थित हुनुपर्ने थियो । कर्नल ओपी भाटियाले यो पल्टनलाई सम्बोधन गर्ने कार्यक्रम थियो । कर्नल ओपी भाटियालाई सातजना अनुपस्थित भएको थाहा भयो । कुल ३८ जना आएका थिए र कर्नल ओपी भाटिया असाध्यै रिसाए र उनी सम्बोधन नगरिकनै रिसाएर फर्किए ।

सातजना अनुपस्थित हुँदा कर्णेल ओपी भाटियाले सम्पूर्ण पल्टनलाई दण्डित गरे । पल्टनका सबै ४५ जवानलाई तीन दिनसम्म लेहबाट १२० किलोमिटर टाढा बल्टी टप, क्यामेल बैक, येलो प्याचमा उक्लिन–ओर्लन आदेश दिए । यी तीनै टप १७ हजारदेखि १९ हजार फुटको उचाईमा छ । कर्णेल ओपी भाटियाको यो सजायलाई लिएर पल्टनमा ठूलो आक्रोश थियो ।

गोरखा रेजिमेन्ट ४/३ मा सुबेदार मेजर रहेका बीबी राणाले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘पल्टनका सबैजना निकै क्रोधित थिए । सुबेदार मेजर पल्टनका बाबुआमा जस्तै हुन्छन् । सबैजना आएर मलाई गुनासो गर्न थाले । कुनै गल्ती नै नगरी सजाय दिइएको उनीहरुको गुनासो थियो । अनुपस्थित सात जनालाई सेनाकै अन्य काममा खटाइएको थियो । कसैले पनि जानीजानी यस्तो गरेको थिएनँ । कर्णेल ओपी भाटियालाई पनि यी कुराहरु सुनाइयो तर उनले एक सुनेनन् । ‘पहिला नै किन नभनेको ?’ उनले प्रश्न गरे । तर यस्तो जानकारी दिनु सुबेदार मेजरको काम होइन ।’

बीबी राणा भन्छन्, ‘पहिलो दिनको सजाय काटेर सिपाहीहरू फर्किएपछि क्याप्टेन दर्जाका तीनजना अधिकृतले क्लबमा मदिरा सेवन गरिरहेको देखे । १०–१२ जवान क्लबमा प्रवेश गरे र नारा लगाउन थाले । त्यतिबेला क्लबमा म पनि थिएँ । मैले ती जवानलाई सम्झाएर चुपचाप त्यहाँबाट फिर्ता गराएँ । यसले ४/३ जिआरको छवि खराब हुनेछ भनेर सम्झाएपछि ती जवान फर्किए तर स्थिति बिग्रिसकेको थियो ।

कोर्ट मार्शलपछि बिबी राणालाई १६ जनवरी १९८१ पछि जागिरबाट बर्खास्त गरिएको थियो । डिस्चार्ज सर्टिफिकेटमा बीबी राणालाई भारतीय सेनामा विद्रोह उक्साएको आरोपमा बर्खास्त गरिएको लेखिएको छ ।

इन्द्रबहादुर गुरुङ भन्छन्, ‘क्लबको टेबुलमा एक युवकले बोतल प्रहार गरेका थिए । ९ जनवरीमा ब्रिगेडियर साहेब आउन लागेको र सैन्य सम्मेलन हुने जानकारी दिइयो । सैन्य सम्मेलन जनवरी १० मा भएको थियो । यसपछि २२ जनवरीमा ७३ जना पक्राउ परेका थिए । सबैको बयान लिइयो । पक्राउ पर्नेमा ११ जना अधिकारी पनि थिए । मनोमानी ढंगले सबैको बयान लियो । हामीलाई हिन्दी आउँदैनथ्यो । नेपाली दोभाषे थिएनन् । एक वर्ष नौ महिना १३ दिन हिरासतमा राखिएको थियो । कोर्ट मार्सलपछि ३ जनालाई जन्मकैद र ५ जनालाई १० वर्ष कैद सजाय भएको थियो । ९ लाई सात वर्षको जेल सजाय सुनाइएको थियो । २५ एनसीओहरूलाई उनीहरूको जागिरबाट बर्खास्त गरियो । ९ जेसीओलाई सेवाबाट हटाइयो ।

इन्द्रबहादुर गुरुङ पनि २५ एनसीओमा संलग्न थिए । गुरुङ भन्छन्, ‘हामीले कसैलाई हानि गरेका छैनौँ । कुनै हताहत भएको थिएन । सुबेदार मेजरले मात्र नारा लगाएका थिए । यो नारा नेपालीमा थियो – गोर्खाली हो कि होईन ? ४/३ जिआर हो कि होईन ? यसै नारालाई सैन्य विद्रोह बताइयो । नर्दन जनरल लेफ्टिनेन्ट जगदीश सिंहले पूरा घटनाको अनुसन्धान गरेका थिए तर साउदर्न कमान्डका जीओसी आरडी हिराको हस्ताक्षर गराइयो । नर्दन कमान्डले जब अनुसन्धान गरेको थियो तर केही पनि भेटिएन ।’

                        ८४ वर्षको उमेरमा बिबी राणा आफ्नो कथा सुनाउँदै गर्दा भावुक भए

भारतीय सेनामा १९ वर्ष काम गरेपछि इन्द्रबहादुर गुरुङ कोर्ट मार्शलबाट बर्खास्त भएका थिए । ४५ जनाको एउटा पल्टनमा सबैलाई जागिरबाट निकालियो । कसैलाई पेन्सन दिइएन । बिबी राणा ती तीन जनामध्ये एक थिए जसलाई जन्मकैदको सजायँ दिइएको थियो । राणा जनवरी सन् १९८१ देखि १९८९ सम्म जेलमा बसे । बिबी राणा ८५ वर्ष पुगेका छन् । पछिल्लो १२ वर्षदेखि प्यारालाइसिसबाट ग्रस्त छन् । तर १९७९ को घटनालाई उनले बिर्सन सकेका छैनन् । उनले पूरा घटना क्रमलाई सबिस्तार बताएका छन् । बिबी राणा सन् १९५५ मा भारतीय सेनामा भर्ती भएका थिए ।

उनले आफ्नो पेन्सनबारे काठमाडौंस्थित भारतीय दूतावासको डिफेन्स विंगमा पनि गुनासो गरेका थिए । भारतीय दूतावासको रक्षा शाखाबाट मेजर पंकज सिंहले हस्ताक्षर गरेको पत्र जारी गरिएको छ । पत्रमा यी भूतपूर्व सैनिकको सम्पत्ति र परिवारका सदस्यको जानकारी माग गरिएको छ । इन्द्रबहादुर गुरुङले सबै जानकारी दिए पनि उपलब्धि नभएको बताउँछन् ।

मेजर पंकज सिंहलाई जानकारी दिएपछि किन केही भएन भनेर सोधियो । यस प्रश्नको जवाफमा उनले भने, ‘उक्त मुद्दा सेनामा विद्रोह भड्काउने थियो । यसमा कोर्ट मार्शल भयो र सबै दोषी पाइए । त्यसैले अब केही हुन सक्दैन । यदि कोही निवृत्तिभरणको गुनासो लिएर आउनुभयो भने, हामी सक्दो सहयोग गर्छौं ।’

गोर्खा रेजिमेन्टमा नै रहेका मेजर जनरल अशोक मेहता १७७९ को यो घटनामा अनुशासनहीनताको गम्भीर घटना भएको र सेनाले यसलाई कडाइका साथ लिने गरेको बताउँछन् । जनरल मेहता भन्छन्, ‘उनीहरुलाई कोर्ट मार्शलमा दोषी ठहर गरिएको थियो । कोर्ट मार्शल पछि धेरै विकल्पहरू बाँकी हुँदैनन् । उनीहरुमाथि अन्याय भएको हो भन्ने उनीहरुको पक्ष होला तर उनीहरुलाई कोर्ट मार्शलमा सजाय भयो, यो पनि यथार्थ हो । उनीहरुले पाकिस्तानसँग युद्ध लडे भन्दैमा अनुशासनहीनताको कुरामा छुट दिन सकिँदैन । उनीहरुले राष्ट्रपतिसमक्ष पनि गुनासो गरेका थिए तर राष्ट्रपतिले पनि उनीहरुको माग अस्वीकार गरेका थिए ।’

एक्लोपन र पीडादायी बुढेसकाल

सेनाबाट निष्कासित भएपछि इन्द्रबहादुर गुरुङ जागिरको खोजीमा थिए । उनले सन् १९८५ मा पुणेमा बजाजमा जागिर पाए । गुरुङले यहाँ एक वर्ष काम गरे । यसै क्रममा उनी विश्व हिन्दू परिषदको सम्पर्कमा आए । गुरुङले सन् १९८६ देखि २००२ सम्म विश्व हिन्दू परिषद, बजरंग दल, आरएसएस र दुर्गा वाहिनीमा हतियार चलाउने तालिम दिइरहेको बताए । विश्व हिन्दु परिषद् (विहिप) का नेताहरूले पेन्सन दिइने आश्वासन दिएको गुरुङले बताए । त्यसैले उनी १६ वर्षसम्म यी संस्थाहरूसँग आवद्ध रहे ।

गुरुङ भन्छन्, ‘यत्तिका वर्षसम्म आरएसएस र विहिपका लागि काम गरिरहेँ । पेन्सन पाउने आशा गरेको थिएँ । सन् १९९९ मा भाजपाको सरकार पनि बनेको थियो । तर कसैले सुनेनन् । सबैले मलाई प्रयोग गरे । म सन् १९८६ मा आएपछि गुजरात विहिपका नेता डा। विश्वनाथ वानिकरले यहाँका हिन्दू केटाहरू मुसलमानसँग किन डराउँछन् भनेर सोधेका थिए। आत्मविश्‍वासको तालिम दिनुपर्छ भनेर मैले भनेको थिएँ । त्यसपछि मैले उनीहरूका कार्यकर्ताहरूलाई हतियारको तालिम दिन थालेँ । पछि यो तालिम सन् १९९२ मा बाबरी मस्जिद ध्वस्त पार्ने तयारीको एक हिस्सा भएको खुलासा भयो । बाबरी ध्वंसका बेला मेरो विद्यार्थीको पनि हत्या भएको थियो ।’

यो तस्बिर इन्द्रबहादुर गुरुङले दिएका हुन् ।  यसमा उनले दुर्गा वाहिनीका किशोरीहरुलाई हतियार चलाउन तालिम दिइरहेको देख्न सकिन्छ ।

गुरुङ रुँदै भन्छन्, ‘पेन्सन त भएन, तर यो पेन्सनका लागि मुस्लिमलाई घृणा गर्नेहरूलाई साथ दिइयो । पेन्सन नपाएको पीडाबाट म निको हुने थिएँ तर १६ वर्षसम्म जसलाई मैले साथ दिएँ, त्यो पीडाबाट म कहिल्यै निको हुन सक्दिनँ ।’

विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष आलोक कुमारलाई गुरुङको आरोपबारे सोध्दा उनले भने, ‘नेपालको मामिला मिलिन्द पराण्डेले हेर्छन् र उहाँले नै यसबारे राम्रोसँग बताउन सक्नुहुनेछ ।’

मिलिन्द पराण्डेसँग सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा आएनन् । इन्द्रबहादुर गुरुङ भन्छन्, ‘न्यायको खोजीमा ४३ वर्षदेखि पागल भएँ । बनारस जिल्ला अदालतमा पाँच वर्ष लडेँ । सन् १९८६ मा इलाहाबाद हाईकोर्ट गएँ । यहाँ २८ वर्ष लडेँ । वकिलहरूले पैसा उठाइरहे । छोराछोरीले किन यति मरिहत्ते गरेको भनेर सोध्छन् । लालकृष्ण आडवाणीसँग भेट भयो । विहिपलाई भेटेँ । आरएसएसमा बसेँ । तर न्याय कतै भेटिएन ।’

इन्द्रबहादुर गुरुङका दुई छोरा र एक छोरी छन् तर नेपालमा कोही छैनन् । एक छोरा दक्षिण कोरिया, एक अमेरिका र छोरी हङकङमा छिन् । ८५ वर्षको उमेरमा एक्लै जीवन बिताइरहेका गुरुङले पाकिस्तानसँग भारतको युद्धका धेरै कथा सुनाउँछन् ।

गुरुङ भन्छन्, ‘मलाई भारतबाट पेन्सन आउने आशा छैन । तर छोराछोरीलाई गोर्खालीहरू बहादुर छन्, त्यसैले उनीहरू सेनामा जान्छन्, भन्ने सोचबाट बाहिर निस्कन सिकाएँ । मैले आफ्ना छोराछोरीलाई सेनामा भर्ती हुन दिइनँ । देशभक्ति र राष्ट्रवाद आम मानिस र मानवतालाई टुक्राउने एउटा विचारधारा हो । आज म सेनामा बहादुरीका लागि पाएको मेडल हेर्दा मलाई गर्व लाग्दैन । रिस उठ्छ ।’इन्द्रबहादुर गुरुङले फाईलसँगै मेडललाई निकै अव्यवस्थित तरिकाले राख्छन् ।

यो कथा इन्द्रबहादुर गुरुङको मात्र होइन

घमबहादुर पुन ७९ वर्षका भएका छन् । सन् १९६२ मा भारतीय सेनामा भर्ना भए । सन् १९६५ मा पाकिस्तानसँग युद्ध लडे । १९७१ को युद्धमा पनि मोर्चामा जानुपरेको थियो । उनका दुई सन्तान छन् । एक छोरा र एक छोरी । छोरा युरोप गए । श्रीमतीको पनि मृत्यु भयो । छोरीसँग बस्छन् । न घर छ, न बस्ने ठाउँ । नेपाल सरकारबाट चार हजार वृद्धाभत्ता पाउँछन् र त्यसबाट खर्च चलाउँछन् । भारतीय सेनामा १९ वर्ष चार महिना सेवा गरे । पहिले तलब पनि कम थियो र पैसा पनि बच्दैनथ्यो । जे बाँकी थियो त्यो मुद्दामा नै खर्च भयो । आफ्नो कथा सुनाउँदै घमबहादुर रुन थाले । रुँदै उनी भन्छन्,‘ म मृत्युको पर्खाइमा छु । जुन देशका लागि लडे, त्यसले यस्तो जीवन दियो । सिमानामा मारिएको भए बरु राम्रो हुन्थ्यो ।’

रुद्रबहादुर मल्ल स्याङ्जाका हुन् । उनी १६ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएका थिए । रुद्रबहादुर पनि ४/३ ग्राममा थिए । उनले सन् १९६५ र १९७१ को पाकिस्तानविरूद्धको युद्ध पनि लडेका थिए । पोखरा स्याङ्जाबाट ५६ किलोमिटर टाढा छ । भाडा ५५० रुपैयाँ छ । तर रुद्रबहादुर ऋण लिएर आफ्नो कथा सुनाउन आएका थिए ।

रुद्रबहादुर भन्छन्, ‘मेरो कुनै गल्ती थिएन तर पल्टनको सजायमा म पनि पिल्सिएँ । म नेपालकै भए पनि भारतलाई मातृभूमि मानेर सेवा गरेँ । जीवनको वास्ता गरिनँ । रेजिमेन्टले कमिसन्ड अफिसर बन्ने अपेक्षा गरेको थिएँ त्यसैले थप उत्साह लिएर काम गर्थेँ । यदि मैले अझै राइफल पाएँ भने, म दुश्मनसँग लड्न तयार छु ।’

दुर्गा वाहिनीका किशोरीको तालिम लिँदै गरेको तस्बिर

रुद्रबहादुर मल्ल ३१ जनवरी १९६२ मा भारतीय सेनामा भर्ती भएका थिए । सन् १९६५ देखि पाकिस्तान युद्धमा सामेल भए । यो बहादुरीका लागि उनले धेरै प्रशंसा पनि पाए । सन् १९७१ मा पाकिस्तानसँगको युद्धमा सामेल भएका थिए । रुद्रबहादुर भन्छन्, ‘सन् १९७९ मा एउटा नाटक थियो । नाटक गर्ने कर्णेल ओपी भाटिया थिए र हामीलाई खलनायक बनाइयो । खुकुरीले कतिलाई काटियो । तर यो मेहेनतको इनाम यही पायौँ ।’

रुद्रबहादुर मल्ल भन्छन्, ‘मेरा पाँच सन्तान छन् । सबैले काम गर्छन् । श्रीमती बिरामी छिन् । घुँडाले काम गर्दैन । म ८४ मा नेपाल आएँ । अन्तिम घडी गनिरहेको छु । ३/४ जीआर का ४६ मध्ये २२ जना मरिसकेका छन् । अब मेरो पालो हो । मजस्तो दुःखी र गरिबलाई कसले ध्यान दिने ? विवाह गर्दा ससुराले औँठी दिएका थिए । बेच्नु पर्यो, अर्को एउटा पनि औँठी छ, त्यो पनि कहिले बेच्नुपर्छ थाहा छैन । कर्णेल ओपी भाटियाले हामीलाई सधैँ गाली गरिरहन्थे । राजा विरेन्द्रले तिमीहरुलाई खान दिँदैनन् त्यसैले यहाँ आएका हौ भनेर भनिरहन्थे । १९ वर्षसम्म सेनामा रहेँ तर आज भातको एउटा सीता पनि मेरा लागि महत्वपूर्ण छ ।’

सन् १९७९ मा यो घटना नभएको भए ३/४ गोर्खा रेजिमेन्टका सबै सैनिकले राम्रै पेन्सन पाउने थिए । कोही कर्णेल भएर रिटायर्ड हुने भए, कोही कप्तान बन्ने थिए । तर विगत चार दशकदेखि उनीहरु गुमनाम र दुःखी जीवन जिउन बाध्य छन् ।-हिन्दी बिबिसिबाट अनुवादित

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com