राष्ट्रपति र माधव नेपाललाई बालेनको कटाक्ष : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?
प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न उठाएका छन् ।
काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न उठाएका हुन ।
बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको कुरा सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्, आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’