रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका लगाइयो


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् ।

सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो । घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँछन् । भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने प्रवक्ता मानन्धरले बताउनुभयो ।

यसैबीच, काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा पनि आज भाइटीका लगाइएको छ । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाइ सामूहिक भाइटीका लगाइदिनुभएको हो । उहाँले हरेक वर्षजस्तै यस वर्ष पनि टीका लगाउन इच्छुक दाजुभाइलाई विधिपूर्वक भाइटीका लगाइ दिनुभयो । अञ्जली दिदीले कुनैपनि दाजुभाईको निधार खाली नहोस् भन्ने उद्देश्यले आफूले सामूहिक टीका लगाउने गरेको जानकारी दिनुभयो । अञ्जली दिदीले विस २०५५ देखि सामूहिक भाइटीका लगाउदै आउनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com