आज गुरुनानक जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै


प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ ।

यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने‘लङ्गर परम्परा’को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो ।

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु ।”

गुरुनानकले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com