श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने


प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार

श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले विदेशी लगानी आकर्षित गर्न श्रीलङ्काका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र त्रिन्कोमाली जिल्लामा नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने सोमबार बताउनुभएको हो ।

राष्ट्रपति विक्रमासिङ्घेले सन् २०२३ को बजेट संसद्मा प्रस्तुत गर्ने क्रममा प्रत्येक क्षेत्रका लागि कम्तीमा एक हजार ‘एकड’ जमिन छुट्याइने बताउनुभएको छ ।

उहाँले लगानी र बाह्य व्यापार प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना गर्न नयाँ एजेन्सी स्थापना गरिने बताउनुभयो ।

आगामी १० वर्षमा वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र््याउने श्रीलङ्काको योजना रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति विक्रमासिङ्घेले सरकारी राजस्व वृद्धि का लागि सार्वजनिक सेवा र करसम्बन्धी मूल्याङ्कन र सिफारिस गर्न राष्ट्रपति आयोग गठन गरिने बताउनुभयो । उहाँले परिमाणात्मक र गुणात्मक तथ्याङ्कका आधारमा उत्पादकत्वका विषयमा अनुसन्धान र अध्ययन गर्न राष्ट्रिय उत्पादकत्व आयोग गठन गर्न पनि प्रस्ताव गर्नुभयो । आयोगले व्यापार समायोजन कार्यक्रमका सम्बन्धमा सुझाव दिने र उद्योग, वाणिज्य र व्यापारसम्बन्धी लघु आर्थिक नीतिका सम्बन्धमा सरकारलाई सुझाव दिनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रस्ताव गरेको सुधार आर्थिक स्थायित्वमा केन्द्रित भएकाले सरकारको आर्थिक सुधार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग भएको सम्झौतामा मात्र सीमित नहुने उहाँले बताउनुभयो । सरकारले सुधार र आधुनिकीकरणमार्फत सात देखि आठ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा गरेको विक्रमासिङ्घेले बताउनुभयो । उहाँले आर्थिक रुपान्तरणका लागि आवश्यक विधायिकी संशोधन र नयाँ विधेयक छिट्टै संसद्मा पेश गरिने जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com