प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक जारी


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ।प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो । स रकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बैठक केहीबेर अघि सुरू भएको जानकारी दिए ।

यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकालमा आफ्नो दाबी कुनैपनि हालतमा नछोड्ने पक्षमा छन्। कांग्रेस तयार नभए एमालेसँग छलफल गर्ने उनको तयारी छ। यो सन्देश उनले शनिबार साँझको बैठकमा पनि दिएका छन्। शनिबारको बैठकमा सरकारको नेतृत्व २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष एकीकृत समाजवादीले गर्ने अनौपचारिक सहमति पनि भएको छ। ‘सरकारको नेतृत्व आलोपालो गर्नेमा कुनै विवाद छैन। तर पहिले कसले नेतृत्व गर्ने भन्नेमा हामी जहाँको त्यहीँ छौँ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भनेका छन्।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय (पुस १० गते) आज साँझ ५ बजे सकिँदै छ। ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९-९-१० गते आइतबार १७ः०० बजेभित्र दाबी पेस गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको बेहोरो अनुरोध छ,’राष्ट्रपति कार्यालयको सूचनामा भनिएको छ ।

हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा एमाले ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com