साउदी अरेबियाले रोनाल्डोमाथि किन धेरै पैसा वर्षायो ? रोनाल्डोबाट कस्तो फाइदा हुन्छ ?
प्रकाशित मिति : पुस २०, २०७९ बुधबार
कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो मैदान छाडेको एक महिनाभन्दा कम समय बितिसकेको छ ।
पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी अरब राष्ट्र बनेको छ । विश्वकप जित्ने उनको सपना चकनाचुर भएको केही हप्तापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोपेली फुटबल क्लब म्यानचेस्टर युनाइटेड छोडेर साउदी अरेबियाको अल–नासरमा आबद्ध भएका छन् ।
अल नासर र रोनाल्डोबीचको सम्झौता अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता भएको बताइएको छ । अल-नासरले रोनाल्डोलाई सन् २०२५ सम्म हरेक वर्ष १८ सय करोड तिर्नेछन्।
मंगलबार रोनाल्डो औपचारिक रूपमा आफ्नो नयाँ क्लबमा सामेल हुँदा उनले युरोपमा धेरै कीर्तिमान बनाएको र अब साउदी अरबमा केही कीर्तिमान बनाउन चाहेको बताए ।
पछिल्लो विश्वकप रोनाल्डोका लागि खास थिएन । पछिल्ला दुई खेलमा उनलाई सुरुमै मैदानबाहिर बस्न बाध्य पारिएको थियो । रोनाल्डोले यो सिजन म्यानचेस्टर युनाइटेडका लागि १६ खेलमा तीन गोल मात्र गरेका थिए, जसमध्ये एउटा पेनाल्टी पनि थियो।
यसका बाबजुद पनि रोनाल्डो अल–नासरमा सामेल भएकोमा मध्यपूर्वका देशहरूमा ठूलो उत्साह देखिएको छ । अल-नासर क्लबले पनि रोनाल्डोको टोलीको जर्सीसहितको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर यो उत्साह देखाएको छ ।
यद्यपि, केही विज्ञहरूले ३७ वर्षीय रोनाल्डोसँग अल-नासरको महँगो सम्झौतालाई साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सुधारवादी नीतिसँग पनि जोडिरहेका छन्, जसको लक्ष्य पश्चिमी देशहरूलाई पछाडि छोडेर साउदी अरबलाई विश्वव्यापी शक्तिको रूपमा स्थापित गर्नु हो।
साउदी अरबमा बढ्दै फुटबलको क्रेज
नोभेम्बर २२ मा कतार वल्र्डमा भएको उद्घाटन खेलमा साउदी अरेबियाको फुटबल टोलीले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गर्दै ठूलो अपसेट बनाएको थियो ।
खेलको दिन साउदीका मन्त्रालयहरू, सरकारी निकायहरू, विद्यालयहरू र विश्वविद्यालयहरू समेत समय अगावै बन्द गरिएको थियो ताकि मानिसहरूले रोमाञ्चक खेल हेर्न सकून्।
साउदी अरबको विजयपछि राजा सलमानले भोलिपल्ट राष्ट्रिय बिदाको घोषणा गरेका थिए ।
साउदीको विजयले देशको लागि मात्र नभई सम्पूर्ण क्षेत्रको लागि उत्साह भरिएको थियो। सामाजिक सञ्जालमा अन्य अरब देशका मानिसहरूले पनि साउदीको जितलाई आफ्नो जितका रूपमा हेर्न थालेका छन्।
यो जित संयोग थिएन। साउदी अरेबियाका खेलकुद मन्त्री राजकुमार अब्दुलाजिज बिन तुर्की अल फैसलले आफ्नो टोलीले तीन वर्षदेखि यस अवसरको तयारी गरिरहेको बताए । यसरी खेलकुद मन्त्रालयले फुटबलको प्रवर्द्धन गर्दा यसको दिशा र लक्ष्यको प्रष्ट सङ्केत हुन्छ ।
खेलकुद साउदीको भिजन २०३० को महत्वपूर्ण पक्ष
युवराज मोहम्मद बिन सलमान कतार विश्वकपमा फिफा प्रमुख जीभी इन्फान्टिनोसँग धेरै पटक देखिएका थिए। सन् २०१६ मा मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ अन्तर्गत खेलकुदलाई प्राथमिकतामा राखिएको थियो।
त्यसयता साउदी अरेबियाको खेलकुद जगतमा ठूलो परिवर्तन देखिएको छ ।
भिजन २०३० ले २०३० सम्ममा खेलकुदमा सार्वजनिक सहभागिता ४० प्रतिशतले बढाउने, विदेशमा रहेका साउदी खेलाडीहरूको प्रदर्शनमा सुधार गर्ने र खेलकुदको अर्थतन्त्रमा सुधार गर्ने लक्ष्य राखेको छ।
फुटबल पत्रकार उरी लेवीले मोहम्मद बिन सलमानको भिडियो ट्वीट गरेकी छन् । उनले रोनाल्डोको साउदी अरब पुग्नु ठूलो परिवर्तनको संकेत भएको बताए ।
रोनाल्डोबाट साउदी अरेबियालाई कस्तो फाइदा हुन्छ ?
क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि अल-नासरले ट्वीट गरे: “इतिहास बनाइँदै छ। यो सम्झौताले हाम्रो क्लबलाई मात्रै नभई हाम्रो लिग, हाम्रो देश र भावी पुस्ता, केटा र केटीहरूलाई पनि उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहन दिनेछ।”
सम्झौताको घोषणा गर्दै रोनाल्डोले भने, ‘म फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु ।’
“अल-नासरले काम गरिरहेको दृष्टिकोण र साउदी अरेबियाले पुरुष र महिला फुटबलको सन्दर्भमा जसरी विकास गरिरहेको छ त्यो प्रेरणादायी छ। हामीले विश्वकपमा साउदी अरेबियाको हालैको प्रदर्शनबाट देख्न सक्छौं कि यो फुटबलमा ठूलो सम्भावना भएको देश हो।
यो सम्झौताले रोनाल्डोलाई इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबलर बनाएको छ, तर साउदी अरेबियाले पनि उनको स्टारडमबाट फाइदा लिन सक्छ।
मिडल इस्ट इकोनोमी वेबसाइटले लेखेको छ कि रोनाल्डोले २०३० फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबियाको बोलीलाई बलियो बनाउन सक्छन्। विशेषगरी रोनाल्डोको आगमनसँगै अहिले मिडियाको पूर्ण ध्यान साउदी फुटबलमा केन्द्रित भएको छ ।
वेबसाइटले साउदी पर्यटन मन्त्री अहमद अल-खतिबलाई उद्धृत गर्दै भन्यो – ‘साउदी अरबले इजिप्ट र ग्रीससँग २०३० फिफा विश्वकपको संयुक्त आयोजनाको प्रस्ताव गर्न सक्छ।’
अहमद अल-खतिबले एक अन्तर्वार्तामा भने, “हामी इजिप्ट र ग्रीससँग मिलेर प्रस्ताव बनाउने सोचिरहेका छौं र आशा छ कि हामी सफल हुनेछौं। तीनवटै देशहरूले पूर्वाधारमा ठूलो लगानी गर्नेछन् र पूर्ण रूपमा तयार हुनेछन्। र मलाई थाहा छ कि त्यसो भए साउदी अरेबियामा विशेष रंगशाला बनाइदिएको हुन्थ्यो ।”
साउदी अरेबियाले यसअघि नै वार्षिक फॉर्मुला १ दौड र एसियाली शीतकालीन खेलकुद २०२९ लगायत अन्य अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरू आयोजना गरिसकेको छ।
अल-नासर क्लबको इतिहास के हो?
रोनाल्डोसँग आवद्ध रहेको अल-नासर क्लब सन् १९५५ मा साउदी अरेबियाको राजधानी रियादमा स्थापना भएको थियो। यो क्लबले देशको सेन्चुरी प्रोफेशनल लिग (एसपीएल) खेल्छ, जसमा कुल १८ टोली छन्।
लिगका सर्वाधिक गोलकर्ता माजिद अब्दुल्लाहले पनि अल-नासरका लागि खेल्दा प्रत्येक खेलमा एकको औसतमा कुल १८९ गोल गरेका छन्। अल-नासर एसपीएलको दोस्रो सबैभन्दा सफल टोली हो, जसले अहिलेसम्म ९ पटक उपाधि जितेको छ। पछिल्लो पटक अल–नासरले सन् २०१८–१९ मा यो उपाधि जितेका थिए । सबैभन्दा धेरै उपाधि जित्ने मामिलामा अल-हिलाल क्लब मात्र अल-नासरभन्दा अगाडि छ।
अल-नासरका वर्तमान प्रशिक्षक रुडी गार्सिया हुन्। क्लबमा पूर्व क्यामेरोनियन विश्वकप नायक भिन्सेन्ट अबुबाकर र ब्राजिलका पूर्व मिडफिल्डर लुइज गुस्ताभो पनि सामेल छन्।
गोल डटकमको समाचार अनुसार, स्वर्गीय साउदी राजकुमार अब्दुल रहमान बिन साउद अल साउदले १९६० मा क्लबको कमान्ड लिए। उनले अल-नासरलाई देशको उत्कृष्ट क्लब बनाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए।
यो विश्वास गरिन्छ कि २००४ मा उनको मृत्यु पछि पनि, क्लबले साउदी शाही परिवारबाट आर्थिक सहयोग जारी राख्यो र क्लबले ठूला खेलाडीहरूलाई आकर्षित गर्न सफल भयो।
क्रिस्टियानो रोनाल्डोले सन् २०२५ सम्म अल–नासरसँग सम्झौता गरेका छन् । यसका लागि अल-नासर क्लबले रोनाल्डोलाई वार्षिक १७७ मिलियन पाउण्ड अर्थात १७७३ करोड रुपैयाँ तिर्नेछ।
गत वर्ष नै अर्को साउदी टोली अल हिलालले पनि रोनाल्डोलाई अफर गरेको थियो । तर त्यतिबेला रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गर्दै आफू म्यानचेस्टर युनाइटेडसँग खुसी रहेको बताएका थिए ।
तर, गत वर्ष नोभेम्बरमा एक अन्तर्वार्तामा रोनाल्डोले क्लबका व्यवस्थापक एरिक टेनसँग आफ्नो असन्तुष्टि व्यक्त गरेपछि म्यानचेस्टर युनाइटेडसँगको वार्ता बिग्रियो । त्यसपछि उनलाई म्यानचेस्टर युनाइटेडले रिहा गरेको थियो ।