हकर हुदै कार्यकारी सम्पादकसम्म खसोखासमा मेरो अनुभव


प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार

म कामलाई पुजा गर्ने मान्छे । ठूलो अर्थात घमन्डी हुने स्वभावनै छैन । हो कसैले हेप्न खोज्यो या दबाउन खोज्यो भने मात्रै म चलायमान हुन्छु नत्र म प्रतिकार नै गर्दिन । किनकी ढिडो खान नपुग्ने मेरो बिगत मेरो मानसपटलमा स्थिर रहन्छ । अनि बाटोमा मेरा बारे कस्ले कहाँ गीत गायो भन्ने मैले बाल दिन्न ।

मेरो बिगतप्रति मलाई गर्व छ । यति भूमिका किन बाधेको भने अमेरिका आएपछि मैले हकरको रुपमा पनि गरेको छु । अमेरिकामा खसोखाससॅंगको मेरो पहिलो सम्बन्ध त्यही हकरका रुपमा थियो ।

पत्रकारिताका हिसाबले अमेरिका आउनु पूर्व १० बर्षपहिल्यै दैनिक पत्रिकाको सम्पादक समेत भएर काम गरेको मान्छे । दर्जनौ पत्रपत्रिका, अनलाईन र रेडियोमा काम गरेको अनुभव थियो तर अमेरिका आएपछि फेरि शुन्यबाट आफुलाई माथी उठाउनु थियो ।

सन् २०१३ मा खसोखास

खसोखासका प्रधानसम्पादक किशोर पन्थीसॅंगको सम्बन्ध धेरै पुरानो हो । उहाँले सॅंगै काम गरौं भन्नु भो । त्यो प्रस्ताव मैले केही समय होल्ड गरें तर मनले के मान्थ्यो बनको चरी बनमै रमाऊॅंछ भने जस्तै खसोखासमा काम गर्ने निधो भयो ।

पदका हिसाबले प्रवन्ध सम्पादक थिएँ तर काम लेखन सॅंगै पत्रिकालाई विभिन्न स्थानमा पुराउनु पनि थियो । ज्याक्सन हाईटका प्रत्येक नेपाली रेष्टुरेन्ट, तरकारी पसलमा मैले पत्रिका बाड्दै हिडेको छु ।

त्यतीबेला पत्रिकाको चर्चा ब्यापक थियो । खसोखासमा म जोडिने बित्तिकै समाजमा यो अनिल अधिकारी भन्ने मान्छे को रहेछ भनेर चर्चा हुन थाल्यो, खोज्न थालियो । अमेरिकी समाजका अगुवाहरुबाट फेसबुकमा फ्रेन्ड रिक्वेष्ट आउन थाले । बिस्तारै अमेरिकामा पनि दुई चार जनाले चिन्न थाले ।

आज खसोखाससॅंग कार्यकारी सम्पादकको भूमिकामा छु । हिजोआज काम र मेहेनत कम परेको छ । तर यससॅंगको सम्बन्ध बडो प्रगाढ छ, आत्मिय छ । खसोखासले उचाई लिईरहदा ति दिन यो मानसपटलमा छचल्किन्छन् ।

सन् २०१७ मा खसोखास

आज खसोखासको चर्चा र स्थान  अमेरिकाको नेपाली समाजमा खास छ । त्यसको पहिलो र बढ्ता हकदार प्रधानसम्पादक किशोर पन्थी नै हो । खसोखास आज खास हुनुको श्रेय उहाँलाई नै जान्छ । यो बीचमा मलाई टिमबाट फुटाल्न अनेकन प्रयत्न भए, तर प्रधान सम्पादक किशोर पन्थी र मेरा बीचमा त्यस्तो कुनै स्वार्थ नै छैन, जसका कारणले सम्बन्ध बिग्रियोस ।

फलानो ढिम्कानो नामको अनलाईन मैले भोली चलाउन सक्छु तर मलाई त्यसो गर्नु छैन् । किनकी यसबाट फाईदा लिने हुदै होईन । मात्रै दुख गर्ने हो । नामका लागी र लेख्नका लागी मलाई खसोखास इज द मोर देन इनफ ।

२०१७ मा खसोखास पूर्ण डिजिटल हुने दिशामा अगाडि बढिसकेको थियो । सन् २०२० को अन्तिममा कोरोना महामारीसँगै खसोखास पूर्ण डिजिटल भयो । 

आज मैले सम्पादकीय टिममा रहेर जति समय दिनु पर्ने हो त्यो दिन सकि रहेको छैन् । यसर्थ खसोखासलाई अझै खास बनाउन मेरो पदमा अर्को कुनै साथी आउनु भयो भने त्यती बेला मेरो भूमिका शुभेच्छुक या टिम मेम्बरका रुपमा रहनेछ तर सम्बन्ध भने टुट्ने छैन ।

आम पाठक, बिज्ञापन दाता, सहकर्मी साथीहरु सबैको जय होस । फेरि एकपल्ट ह्याप्पी बर्थ डे खसोखास ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com