टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० हजार पुग्यो,अझै बढ्न सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी
प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २० हजार मानिसको मृत्यु भएको छ । यसैबीच, संयुक्त राष्ट्र संघले प्रकोपबाट भएको क्षतिको पूर्ण तस्विर अझै स्पष्ट नभएको जनाएको छ। दुवै देशमा द्रुत राहत र उद्धारको काम भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा च्यापिएका मानिस जिवित भेट्नसक्ने आशा कम हुँदै गएको छ । यसैबीच भूकम्पबाट बाँचेका हजारौं जनताका लागि कडा चिसोले नयाँ चुनौती खडा गरेको छ । यहाँ बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस प्रकोपको पूर्ण तस्विर अहिलेसम्म नआएको बताउनुभएको छ, ‘विशेषगरी विगत केही वर्षदेखि गृहयुद्धको सामना गरिरहेको र यसअघि पनि यस्तै दुर्दशाको सामना गरिरहेको सिरियामा ।’ यसैबीच, विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको दिँदै भनेको छ,’ यदि बाँचेकाहरूलाई खाना, पानी, औषधि र आश्रय जस्ता सहायताहरू ‘छिटो रूपमा डेलिभरू गरिएन भने, दोस्रो प्रकोप हुन सक्छ।’
एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधा सम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।
टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले दक्षिणी टर्कीका १० प्रान्तमा तीन महिनाको संकटकाल लगाएका छन् र भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् ।
उस्मानी प्रान्तमा भएको राहत तथा उद्धार कार्यको समीक्षा गरेपछि उहाँले भन्नुभयो, “यस भूकम्पले ठूलो जनधनको क्षति गरेको छ, यसलाई शताब्दीकै प्रकोप भन्न सकिन्छ । राहत र उद्धार कार्यमा हजारौं मानिसहरु सहयोग गर्न अगाडि आएका छन् । ‘देशका विभिन्न भाग र अन्य मुलुकबाट यस क्षेत्रमा सबै प्रकारका सहयोग र सवारी साधन ल्याइएको छ ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।