भारतको नेशनल बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता भण्डारीको खुट्टाको अप्रेसन सफल, हृदयको चाल सामान्य


प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार

बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको दुईवटा खुट्टाको पहिलो अप्रेसन सफल भएको छ।

भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको माधव न्यौपानेले बताउनुभयो । भण्डारीले आखाले हेरेपनी बोल्न भने सक्नुभएको छैन् ।

उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो । नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन् ।

भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो । नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो । आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला घाइते हुनुभएको थियो । हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो । नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com