नयाँ वर्षलाई स्वागत गरी मनाइयो ग्याल्पो ल्होसार


प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गरेर मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ । आजदेखि शेर्पा समुदायको २१५० औँ साल सुरु भएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाउन परम्परा शेर्पा समुदायमा छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

यस अवसरमा बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजाआजा गरिएको छ । पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं वेशभूषा प्रदर्शन हुने गरी कार्यक्रमको आयोजना पनि गरिएको थियो । आज सुरु भएको ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी १५ दिन अर्थात् फागुन शुक्ल पूर्णिमासम्म मनाउँछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com