सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने


प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो ।

वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त बताउँनुहुन्छ । दिनरात गरेर फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुनेछ । सो समयावधिमा काम गरिने जनाइएको छ ।

सडक बन्द भएपछि अति आवश्यक पर्ने सवारी साधन, साना, हलुका गाडीलाई वैकल्पिक मार्गको रुपमा दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नतिपश्चात राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय भएको छ ।

सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख रकममा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला बेलामा ठूलो हानीनोक्सानी हुने गरेको छ । पाल्पा, बुटवल, पोखरा, गुल्मी, स्याङ्जालगायतका जिल्लामा आवतजावत गर्ने यो महत्वपूर्ण राजमार्गको रुपमा लिइन्छ । यही सडकमा माथिबाट खसेको पहिराले बर्सेनि धेरैले ज्यान गुमाउनु परिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com