गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटमा उत्खनन पुनः थालियो, काम ४५ दिनसम्म चल्ने


प्रकाशित मिति : फाल्गुन ११, २०७९ बिहीबार

भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत जस्तै यस वर्ष पनि उत्खनन थालिएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् ।

तिलौराकोट क्षेत्रको विभिन्न ठाउँमा उत्खनन कार्य ४५ दिनसम्म चल्ने पुरातत्व विभागका प्रमुख रामबहादुर कुँवरले जानकारी दिनुभयो । तिलौराकोटको पूर्वी द्वार अगाडिको संरचना, कन्थक स्तूप नजिकै भेटिएका विहार र पोखरीको अनुसन्धानसमेत थालिएको उहाँले बताउनुभयो । यसका साथै तिलौराकोटमा भौगर्भिक सर्भेलगायत कार्य गर्ने योजना रहेको कुँवरको भनाइ छ ।

विगत वर्षमा मुख्य दरबार क्षेत्र, उत्तरी द्वार, मौर्यकालीन पोखरी, समयमाई मन्दिर पछाडि, शिवगढ, कन्थक स्तूपलगायत क्षेत्रमा उत्खनन गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com