चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत
प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ । गत वर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४.७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ ।
चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ । पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् । उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा अधिक रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।
जटिल सुरक्षा चुनौतीको सामना गर्न तथा आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न प्रस्तुत गरिएको बजेटलाई १४औँ राष्ट्रिय जन कङ्ग्रेसका प्रवक्ता वाङ चाओले उचित र व्यावहारिक भन्नुभएको छ ।
उहाँले रक्षा बजेट वृद्धि आवश्यक रहेको बताउँदै त्यो देशले अवलम्बन गरेको राष्ट्रिय प्रतिरक्षा नीति अनुकूल रहेको सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिनुभएको छ । “रक्षा खर्चमा जति नै लगानी गरियोस् वा आफ्नो सशस्त्र बललाई जतिसुकै आधुनिकीकरण गरे पनि चीनले कहिल्यै प्रभुत्व, विस्तार वा प्रभावको क्षेत्र खोज्ने छैन,” उहाँले भन्नुभयो । चीनको रक्षा बजेट संयुक्त राज्य अमेरिकाको करिब एक चौथाई हो ।