स्पेनमा मृत्यु भएका लोकगायक लम्सालको शव नेपाल ल्याई पशुपतिमा गरियो अन्त्येष्टि


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न शव बुझेपछि पशुपतिस्थित शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जलीे कार्यक्रमको आयोजना गरेको थियो ।

तेह्र दिनसम्मको काम स्याङ्जा गएर नै गर्ने र अस्तु पनि उतै लगेर विसर्जन गर्ने तय भएको गायक लम्सालका भान्जा दीपेन्द्र रेग्मीले जानकरी दिनुभयो । चलचित्र निर्मातासमेत रहनुभएका रेग्मीका अनुसार गायक लम्सालको तीन श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

लम्साल लोक गायन क्षेत्रका पाका गायक मानिनुहुन्छ । स्पेनमा बस्दै आउनुभएका लम्सालको गत फागुन २३ गते ६० वर्षको उमेरमा मृत्यु भएको थियो । स्पेनमा ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ‘आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीतमार्फत उहाँ स्थापित हुनुभएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com