बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी (हेर्नुहोस् तस्वीरमा)


प्रकाशित मिति : चैत्र ३०, २०७९ बिहीबार

मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गर्नुभएको छ ।

बिस्का जात्रा तथा नववर्ष २०८० को उपलक्ष्यमा मध्यपुर पर्यटक विकास समितिद्वारा वसन्तपुरमा आज आयोजित उक्त प्रदर्शनी शुभारम्भ गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको ऐतिहासिक जात्राको रूपमा रहेको बिस्काः तथा जिब्रो छेड्ने जात्रालाई प्रवर्द्धन गर्न यस्ता प्रर्दशनी महत्वपूर्ण हुने बताउनुभयो ।

“सानो भूभागमा रहेका संस्कृति तथा सम्पदाको प्रवद्र्धन गरी पर्यटकको अभिवृद्धि गर्ने उद्देश्यले पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । फोटो प्रर्दशनीले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्छ”, उहाँले भन्नुभयो । आजदेखि सुरु भएको जात्रा तीन दिनसम्म सञ्चालन हुनेछ । जात्राको अन्तिम दिन जिब्रो छेड्ने कार्यक्रम रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले नेपालका कला र संस्कृति संरक्षण गरी पर्यटक प्रवर्द्धन गर्न जरुरी भएको बताउनुभयो । नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले आगामी वर्ष शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखी पालिकाले योजना तय गरिरहेको बताउनुभयो ।

बिस्काः जात्रा सम्बन्धी विभिन्न समयका ९० फोटो प्रदर्शनीमा राखिएकामा जात्रालाई झल्काउने ऐतिहासिक बस्ती, जात्राको पहिचान दिने बाजा, सिन्दुर, खट जात्रा, चिलाख, बालकुमारी माईलगायत कला, संस्कृति तथा पुरातात्विक सम्पदाको फोटो छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com