अमेरिका-पाकिस्तान कूटनीतिक छलफल सकारात्मक दिशामा


प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार

आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो ।
अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीबार वाशिङ्गटनमा आयोजित सेमिनारलाई सम्बोधन गर्दै अमेरिकाले पाकिस्तानको लागि यस अघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्तिय पोषण र विदेशी सैन्य सामग्री बिक्री पुनर्स्थापित गर्नु महत्त्वपूर्ण रहेको बताउँनु भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएयता अमेरिका–पाकिस्तान सम्बन्ध लामो समयदेखि अनिश्चिततामा फसेको छ । अहिले अमेरिका र चीनबीचको द्वन्द्वका कारण पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसिएको छ ।
दक्षिण र मध्य एसियाका लागि अमेरिकी प्रमुख उप-सहायक विदेशमन्त्री एलिजाबेथ होर्स्टले सङ्कटग्रस्त पाकिस्तानी अर्थतन्त्रको पुनर्निर्माणमा मद्दत गर्ने आवश्यकतामा ध्यान केन्द्रित गर्दै इस्लामाबादलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग काम गर्न आग्रह गर्नु भएको डनले उल्लेख गरेको छ ।
पाकिस्तान र आईएमएफले सहमति जनाएका सुधारहरू सजिलो नभएको तर पाकिस्तानले देशलाई आर्थिक सबलताको स्थितिमा फर्काउनका लागि यी कदमहरू चाल्नु आवश्यक रहेको एलिजाबेथ होर्स्टको बुझाइ रहेको छ ।
यसैबीच वाशिङ्टनले इस्लामाबादलाई आईएमएफसँग सहमति अनुरूपको ‘कडा सुधार’ कार्यक्रम लागू गर्न आग्रह गरेको छ ।
भर्खरै उच्चस्तरीय कूटनीतिक संलग्नता र बाक्लिदै गएको वार्ता अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने सन्दर्भमा पाकिस्तानका निम्ति सकारात्मक हुनसक्ने टिप्पणी गरिएको छ ।
विल्सन सेन्टर वाशिङ्गटनमा आयोजित सम्मेलन थुप्रै चुनौतीपूर्ण घटनाक्रमहरूको पृष्ठभूमिमा अमेरिका-पाकिस्तान सम्बन्धलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित थियो।
एक प्रश्नको जवाफ दिँदै राजदूत खानले पाकिस्तानले रुसी तेलको लागि पहिलो आग्रह गरेको र अमेरिकी सरकारसँग परामर्श गरेर त्यसो गरेको पनि बताउँनु भएको छ ।
सो अवसरमा अफगानिस्तानमा स्थायित्व ल्याउन पाकिस्तानले खेल्ने भूमिकाबारे पनि छलफल भएको थियो।
अफगानिस्तानमा भएको आतङ्कवादको बृद्धिप्रति अमेरिका र चीन दुवै चिन्तित रहेको उल्लेख गर्दै उहाँले यस खतरालाई उन्मूलन गर्न मिलेर काम गर्नुपर्ने धारण राख्नु भएको छ । आतङ्कवाद आज पाकिस्तान र अफगानिस्तानका लागि खतरा बनेको छ । यसलाई नियन्त्रण गरिएन भने यसको असर अन्यत्र पनि देखिने उहाँको टिप्पणी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com