अन्तिम उपाय (सन्दर्भ: बुद्ध जयन्ती)
प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार
प्राचिन कालदेखि अहिलेसम्म अनेक दर्शन, धर्म र धर्मगुरुहरू आए यस धर्तीमा । ज्ञानको खोजी, सामाजिक अनुशासन, मर्यादा र मनुष्य जीवनको उद्देश्य बताउने नै सबैको लक्ष्य थियो । हिन्दु, बुद्ध र आधुनिक धर्मगुरुसम्म आइपुग्दा हामीले के के देख्यौं र सिक्यौ त?
अहिंशा परमो धर्म भने पनि हिन्दु धर्म हिंशात्मक नै छ । ब्रह्मा, विष्णु र शिवमा को ठुलो भनेर लडाई भएको, शिव र विष्णुबीच घमासान युद्ध भएको, देवता र दानवबीच लगातार र कहिल्यै नटुङ्गिने युद्ध चलेको र अनेकौं पटक भगवान विष्णुले राक्षसी प्रवृतिको विनाश गर्न धर्तीमा अवतरण गर्नु परेको प्रसंगले हाम्रा धर्म ग्रन्थहरु भरिएका छन् ।
शिवले रिस थाम्न नसकेर ब्रह्माको टाउको काटिदिएको, रिस थाम्न नसकेर गणेशको टाउको काटिदिएको र दक्ष प्रजापतिको टाउको काटिदिएको कथाहरु छन् । त्रिपुरासुर बध गर्न अनैकौं हथकण्डा अपनाइएका कथा छन् । जालन्धरलाई मार्न वृन्दाको सतीत्व हरण गरिन्छ ।
समुद्र मन्थनमा सुरुदेखि नै राक्षसलाई प्रयोग गर्ने तर अमृत देवतालाई मात्र सेवन गराउने प्रपन्च नै गरिन्छ । महाभारतमा पुरै छलकपट र षडयन्त्रको कथा छ । देवी भागवतमा देवीले रिसले आँखा नदेखेर संसार नै ध्वस्त गर्ने डर छ । परशुरामले पृथ्वीभरका क्षेत्रीहरूलाई नष्ट गर्ने अभियान नै चलाउँछन् । यस्तो लाग्छ कि हाम्रा धार्मिक कथा दुष्ट नास गर्ने कथा हुन् । तर दुष्टलाई सत्मार्गमा लैजान प्रेरणा दिने कथा हैनन् । धम्कीका कथा हुन् । पाप गर्न उक्साउने, धम्क्याउने र सिध्याउने कथा हुन् ।
यसो भनिरहँदा कथामा भएका सकारात्मक, गहन, दार्शनिक, बैज्ञानिक पक्षलाई नजर अन्दाज गरेको हैन तर कथा पुरै एक पक्षीय छन् र जीत्नेका पक्षमा मात्र लेखिएका छन् ।
तर राक्षसलाई होइन राक्षसी पनलाई नष्ट गर्ने र मानिसको मन परिवर्तन गरिदिने चेष्टा बुद्धमा मात्र देखिन्छ । बुद्ध नै हुन् जसले अंगुलिमालको मन परिवर्तन गरिदिन्छन् । लडाई नगरी युद्ध जित्छन् । मेलमिलाप र शान्तिको विगुल फुक्छन् ।
त्यसैले भगवान भन्नुहुन्छ -‘म यो निरन्तरको लडाई र प्रतिशोधको अन्त्य गर्न अन्तिम उपाय शान्ति लिएर आएँ ।’
मैले शक्ति प्रयोग गरें
मैले प्रत्येक पटक हारएँ र मारें उसलाई
तर हरेक पटक बाँचेर आयो
फेरि जन्मेर आयो
मैले त्रिशुलले घोचें
खुँडाले हानें
सुदर्शन चलाएँ
ब्रह्माश्त्र बर्षाएँ
मैले प्रत्येक पटक हराएँ र मारें उसलाई
तर हरेक पटक बाँचेर आयो
फेरि जन्मेर आयो ।
भए भरका अश्त्र शश्त्र देखाएँ
महाशक्ति भएर प्रकट भएँ
हरेक युगमा ऊ दुष्ट भएर प्रकट हुँदा म नष्ट गर्न आएँ
ऊ अनेंक रुपमा दुष्ट भएर आउँदा म साधुको इष्ट भएर आएँ
मैले प्रत्येक पटक हराएँ र मारें उसलाई
तर हरेक पटक बाँचेर आयो
फेरि जन्मेर आयो ।
पटक पटक आत्म समर्पण गर्न आग्रह गरें
म नै शरणागत हुँ भनें
म तँलाई सदाको लागि मुक्ति दिन्छु भनें
भक्ति मार्ग, योग मार्ग सबै देखाएँ
मेरो विराट रुप देखाएँ
अहँ टसको मस गरेन
मैले प्रत्येक पटक हराएँ र मारें उसलाई
तर हरेक पटक बाँचेर आयो
फेरि जन्मेर आयो
प्रतिशोध बनेर आयो
रक्त बिज बनेर आयो
म मर्छु तर शरण पर्दिन भन्यो
शरीरमा एक थोपा रगत रहुन्जेल लड्छु भन्यो
लड्यो र फेरि लड्न फेरि जन्मियो
युगौं युग र अनन्त काल सम्म
मैले प्रतेक पटक हराएँ र मारें उसलाई
तर हरेक पटक बाँचेर आयो
फेरि जन्मेर आयो ।
तर युगौं पछि अन्तमा,
ऊ नबदलिए पछि म आफै बदलिएँ
मैले आफै भित्र हेरें, आफै भित्र खोजें
म भित्रको ज्ञान ज्योति बलेपछि
अश्त्र शश्त्र बिना उसको सामु उभिएँ र भनें –
‘म अब तँलाई मार्दिन, माया गर्छु
मार्छस भने मार बरु म तेरै हातबाट मरिदिन्छु’
आज युगौं पछि म जाँगे र ऊ पनि जाग्यो
जुरुक्क उठेर भन्यो ऊ – ‘म पनि हजुरलाई प्रेम गर्छु’
मेरो पाउमा लामतन्न परेर भन्यो – शरण प्रभु !
युगौंसम्म,
मैले जे गर भनें त्यो गरेन ऊ
मैले जे गरें त्यो मात् गर्यो ऊ
मैले अहंकार देखाउँदा अहंकार देखायो
मैले प्रतिशोध देखाउँदा प्रतिशोध देखायो
मैले शश्त्र देखाउँदा उसले पनि शश्त्र देखायो
म बुद्ध बने पछि ऊ पनि एक्कासी बुद्ध बन्यो
मैले शान्ति भने पछि उसले पनि शान्ति भन्यो
मैले देखे पछि उसले पनि अन्तिम उपाय देख्यो
अभिभावक प्रमुख र सबैको अन्तिम उपाय !
घर शान्ति र विश्व शान्तिको अन्तिम उपाय !
बैशाख २२, २०८० बुद्ध जयन्ती