शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको बयान सकियो, बुधबार अदालतमा हाजिर गराउने


प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ । नेकपा (एमाले)का निलम्बित सचिव रायमाझीको बयान सोमबार राति अबेर सकिएको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए ।

आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीको बयान सोमबार थालेर त्यहीँ दिन अबेर राति सकिएको हो । उनले सरकारी वकिल लक्ष्मण घिमिरे, न्यायाधीश केशवप्रसाद अधिकारीसँग आफूलाई हर्निया भएको, हिरासतमा प्रहरीले रातभर सुत्न नदिएको बताए ।

रायमाझीबारे अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउने छ भने सोही दिन अदालत हाजिर गराउने छ । रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com