भू–स्वर्ग मानिने सुदूरपश्चिमको खप्तडमा अध्यात्मिक सम्मेलन हुँदै
प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार
भू–स्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा पहिलोपटक यही जेठ २३, २४ र २५ गते अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ ।
सम्मेलनको पूर्वतयारीका सिलसिलामा आज धनगढीमा भएको छलफलमा सो जानकारी दिइएको हो । सम्मेलनको तयारीस्वरुप भएको छलफलमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ । समितिअन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री शाहले खप्तडको विकासका लागि सबैबाट सकारात्मक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको बताउनुभयो ।
प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा हुन लागेको सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने जनाइएको छ । समुद्री सतहबाट झण्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, अध्यात्मिकलगायतको दृष्टिले महत्वपूर्ण रहेको छ ।
सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गर्नुभएको थियो । यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती ९टापु०लगायतका आकर्षक संरचना छन् । जडीबुटी पनि पाइन्छन । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।
अध्यात्मिक पर्यटनको प्रबवद्र्धन गर्दै प्रदेशको समग्र विकासमा टोवा पुर्याउने उद्देश्यले यो सम्मेलन गर्ने पहल गरिएको हो । समितिका कार्यकारी निर्देशक खड्काले भन्नुभयो, “सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित छ भन्ने सन्देश दिन पनि यो सम्मेलन गर्न लागिएको हो ।”
विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । डोटी जिल्लाको झिङ्गराना हुँदै खप्तड पुगिन्छ । झिङरानासम्म यातायात पुग्ने भए पनि त्यसपछि झण्डै एक दिनको पैदलयात्रापछि मात्र खप्तड पुगिन्छ ।