मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती
प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार
म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ ।
धवलागिरि गाउँपालिका–७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि तीन वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गर्नुभयो । “खोल्सामा थुपारेको बोत्तल बाढीले बगाएर खेतमा ल्याएर थुपार्यो”, उहाँले भन्नुभयो, “खेतभरि सिसाको टुक्रा भएपछि बाली लगाउनै पाएको छैन, बाँझै राखिएको छ ।”
नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहर व्यवस्थापनको उपाय अपनाइएको छैन । साथै मदिरा उत्पादक कम्पनीले नै यस्ता खाली सिसा फिर्ता लैजानुपर्ने हो तर वास्ता नगरेकाले समस्या भएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । अध्यक्ष खत्रीले चुनौतीका रूपमा देखिएको सिसाजन्य फोहर व्यवस्थापनका लागि नीतिगत पहल गर्नुपर्ने बताउनुभएको छ । सडक सञ्जाल जोडिएसँगै दुर्गम भेगका बस्तीमा अझ बढी मदिराजन्य, चिसो पेयपदार्थजन्य सिसाका खाली बोत्तलको थुप्रो लागेको छ । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीका व्यवसायीले भने सिसाका खाली बोत्तल खाल्डोमा पुर्दै आएका छन् ।
“मदिराजन्य सिसाका खाली बोत्तल पर्यटकीय क्षेत्रका लागि समस्या भएका छन् । यस्ता बोत्तल फिर्ता लैजाने कोही नभएकाले हामीले खाल्डो खनेर गाड्ने गरेका छौँ”, घोडेपानीका सुशील पुनले भन्नुभयो, “सिसाको बोत्तल फिर्ता लैजाने कम्पनीको मात्रै मदिरा बेच्नेबारे हामीले समुदायमा छलफल गरिरहेका छौँ ।” घोडेपानीमा पर्यटनको एक याममा एउटा होटलबाट एक ट्रयाक्टरभन्दा बढी सिसाको बोत्तल निस्कने उहाँको भनाइ छ ।
बस्तीभन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र आधार शिविरमा पनि यस्ता सिसाका बोत्तल थुप्रिँदा समस्या बढ्दै गएको छ । यत्रतत्र छरिएका सिसाका बोत्तल र क्यानले आधार शिविर क्षेत्रमा फोहर बढेको छ । यसको व्यवस्थापनमा अझैसम्म जिम्मेवार निकायले चासो दिएको देखिँदैन । साथै पदमार्गमा आउने अधिकांश पर्यटकले समेत आफूले ल्याएको सिसाका बोत्तल सुरक्षितरूपमा व्यवस्थापन नगरी जथाभावी फाल्ने गरेका छन् । पर्यटकीय क्षेत्र तथा गाउँघरमा सिसाका बोत्तल व्यवस्थापनमा चुनौती थपिएको छ ।
“मदिरा खानेले स्वाद र मनोरञ्जन लिए, बेच्नेले पैसा कमाए । तर स्थानीयवासीले भने सास्ती भोग्नुपरेको छ”, घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजाले भन्नुभयो, “एउटाले सेवन गरेको, अर्कोले बेचेर पैसा कमाएको मदिराको खाली बोत्तलबाट निर्दोष किसान पीडित हुनुपरेको छ ।”