टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा विष्फोट, ५ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार

टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको विष्फोटमा परी पाँच कामदारको मृत्यु भएको छ । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा शनिबार बिहान दुर्घटना भएको हो ।

टर्कीको सरकारी टेलिभिजनले विष्फोटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेको जनाएको छ । घटनामा धेरै मानिस घाइते समेत भएका छन् । अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विष्फोट सुरु भएको हो ।

क्षेत्रीय गभर्नर वाहप साहिनले भग्नावशेषमा कुनै पनि कर्मचारी फसेको छैन । सरकारी सञ्चारमाध्यमका अनुसार घाइते कर्मचारीलाई स्थानीय अस्पतालमा लगिएको छ भने घाइते मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । पत्रकारसँग कुरा गर्दै गभर्नरले रासायनिक प्रयोगका कारण विस्फोट भएको बताए ।

उपरक्षा मन्त्री आल्पास्लान काभाक्लिओग्लुले विस्फोट हुनुअघिको फुटेज जाँच गरिरहेको बताएका छन्। उनले कारखानामा काम गरिरहेका मानिसहरु काम गरिरहेका बेला अचानक विस्फोट भएको बताए । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक र प्रशासनिक छानबिन सुरु गरेको जनाएको छ । यसैबीच टर्कीका भर्खरै निर्वाचित राष्ट्रपति रेसेप तैयप अर्दोआनलाई पनि घटनाको जानकारी दिइएको छ ।-बिबिसि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com