सशस्त्र द्वन्द्वका बेला बलात्कारमा परेका महिला भन्छन् – ‘हाम्रो मुद्धामा तै चुप, मै चुप किन ?’
प्रकाशित मिति : असार २, २०८० शनिबार
कोपिला पहाडी क्षेत्रको बासिन्दा हुन । घरको कमजोर आर्थिक अवस्थाकै कारण पढाई बिचमै रोकिएको थियो । आमाबुबासँगै साहुको मेला जानु उनको बाध्यता थियो ।
जब उनी १४ वर्षकी भइन्,पहिलो पटक माओवादी नेताको कुरा र काम गर्ने तरिका देखिन । त्योबेला माओवादी घर—घरमा बस्न आउँथे । गरिबका दिन ल्याउने र जातिय बिभेद अन्त्य गर्ने भाषणको प्रभाव कोपिलामा पनि पर्यो ।
माओवादीमा लाग्दा, गरिबले दुई छाक भात खान पाउने र गाउँमा आफूमाथि मानिसको जस्तो व्यावहार हुने सपना बुनेकी कोपिला घरबाट झोला बोकेर युद्धमा जान निस्कीईन । उनीले धेरै कुरा बुझेकी थिईनन् ।
पार्टीमा हिँडेको केही दिनमै उनको जिवनमा ठूलो घटना घट्यो । भन्छन्, “जिन्दगीको चित्र नै मेटियो । रगतमा तत्पत्तिएर मुढा जस्तै लडेको शरीर । हातमा हतकडी, बाँकी केही थिएन ।”
कुरा २०५८ साल मंसिर ८ गते पछिको हो । जब नेकपा माओवादीले दाङ घोराही कब्जा गर्यो,गाउँघरमा ठूलै आतंक मच्चियो । देशमा सेना परिचालन भयो ।
गाउँमा तत्कालीन माओवादी खोज्न हिँडेको नेपाली सेनाले नेता र लडाकु त भेटेन । तर कोपिलाको आमालाई घरभित्र घुसेर लछार पछार गर्दै सामूहिक बलात्कार गर्यो । आमाले हात जोड्दै,भनिन् “बरु मलाई मार छोरीलाई केही नगर । उनको चित्कार कस्ले सुन्ने ।”
त्योदिन कोपिला घरमै थिईन ।
उनलाई सेनाले घरबाट घिस्रादै घिस्रादै जंगलमा पुर्यो । मानिसहरु दर्शक बनेर उभिए । बन्दुकको अगाडी बोल्ने हिम्मत कस्ले गर्ने ?
दाङ घोराही कब्जा भयो, नेताहरु बाहिर जितको खुशीमा रमाईरहेका थिए तर उनी जस्ता बालिका सेनाको क्याम्पमा बालात्कार जस्तो पासविक यातनाबाट तड्पीरहेका थिए ।
कोपिला भन्छिन्, “गाउँ देखि नजिकैको जंगलमा सेनाले हतकडी लगाएर तीन दिन अर्धमृत हुनेगरी शारिरिक र मानसिक यातना मात्र होइन, पालैपालो बलात्कार समेत गरे । दुई तीन जनाले बलात्कार गरेको याद छ, त्यसपछि म हरेक पटक बेहोस् हुन्थेँ । होसमा आउँदा रगतले लुगा भिजेको हुन्थ्यो । शरीर त चलाउनै सकिदैनथ्यो ।” “होस्मा आउँदा सेनाले हतियार कहाँ छन् भन ? तेरा नेता कहाँ बस्छन् भन भन्दै छातीमा बुटले कुल्चेको सम्झँदा अहिले पनि दिमागले काम गर्नु छोड्छ ।” यतिभन्दा उनी धेरैबरे चपचाप बसिन । आफूले ओडेको चुन्नी निकै बेर हातले बडारी रहिन । आँखाको डिलमा टिलपिल गरेका आँशु लुकाउने कोशीसमा थिइन ।
तीन दिन जंगलमा यातना दियो, दुई दिन ब्यारेकमा राख्यो,अनि पालमै राख्यो । १४ महिलपछि सेनाले उनलाई आफै छोड्यो । किनकी उनी सामान्य कार्यकर्ता थिइन । सेनाले चाहेको उनलाई थाहा नै थिएन ।
“छुटेपछि मैले पार्टीका महिला नेतालाई घटना सुनाएँ तर उहाँले बेवास्ता गर्नु भयो । सेनाले छोडेपछि कसैले सोधेनन् तँलाई कस्तो छ ? बरु उल्टै तँ हिड्नुपर्छ मात्र भने । उपचार बिना हिड्न सक्ने अवस्था थिएन,त्यो पीडा कसैले बुझ्न चाहेनन् ।”
उनीले भन्छन्, “पार्टीले वेबस्ता गर्दा अझ पीडा हुँदो रहेछ । आफूले भोगेको पीडा आमाबुबालाई भन्न सकिन, उहाँहरुले मलाई बचाउन त्यो अबस्थामा जबरजस्ति बिहे गरिदिनु भयो, तपाई आफै भन्नुस् मैले कति पिडा भोगेको हुँ ला ? घरबार राम्रो हुने कुरै भएन । घटना थाहा पाएपछि श्रीमानले छोडे ।” उनले आफ्नो पीडा सुनाउँदा हामीले पनि आँशु थाम्न सकेनौँ । कुराकानीको बीचमा सन्नाटा नै छायो । त्यसपछि उनको कुरा सुन्ने हिम्मत भएन ।
अहिले कोपिला बलात्कार पिडित महिलाको राष्ट्रिय संगठनकी सदस्य हुन । युद्धमा सेना र माओवादीले बलात्कार गरेका महिलालाई संगठित गर्दै न्यायको लडाईमा हिँडेकी छिन् । यस संगठनको नेतृत्व देबी खड्काले गरेकी छिन् । यो संगठनमा युद्धमा बलात्कार र यौन हिंसामा परेका महिलाहरु संगठिन भएका छन् ।
उनी भन्छिन्, “म निराशाले भरिएको थिएँ । सोचेँ– म कसरी शरीर र आत्मामा रहेका घाउहरु बोकेर बाँच्न सक्छु ? म बोल्नुपर्छ । आफ्नो लागि मात्र होइन, हामी जस्ता बलात्कारमा परेर बाँचेकाहरुको न्यायका लागि लड्नुपर्छ । अहिले द्धन्द्धमा बलात्कार पिडित महिलाको संठगनको केन्द्रिय सदस्य र जिल्ला संयोजकको रुपमा काम गरेको छु ।”
उनी चाहान्छन्, युद्धको बेला महिला दुबै तर्फबाट बलात्कृत भएका थिए भन्ने तथ्यांक राज्यले राख्नुपर्छ र पिडितको जिम्मा राज्य लिनुपर्छ ।
“शान्ति सम्झौतापछि उपचार पाइन्छ कि भन्दै शान्ति मन्त्रालय पुगे त्यहाँ प्रमाण मागियो । के प्रमाण देखाउने ? काटेको भए घाउ हुन्छ, गोली लागेको भए दाग हुन्छ, बलात्कार भएको के देखाउने ?” उनले भनिन् ।
पार्टीभित्रका महिला आन्दोलनका ठेकेदारहरुले, यो कुरो स्विकार गर्दैनन् । न सुन्न चाहान्छन् । शान्ति सम्झौता भएको १७ बर्षपुग्दा पनि उनीहरुको न्यायको पक्षमा संस्थागत रुपमा बोलेको पाईदैन ।
पुरुषप्रधान समाजमा बलात्कार पीडितहरू महिला बोल्न सजिलो छैन । बोल्नेहरुमाथि सामाजिक र पारिवारि आक्रमण हुन्छ नै । कानुनले प्रमाण खोज्छ ।
“सोचेको थिएँ, हाम्रो पार्टी सरकारमा गएपछि हाम्रो योगदान र बलिदनको उच्च मुल्यांकन गर्नेछ र हामीले भोगेको पासविक पीडाको बोध गर्नेछ, अनि सम्मान गर्नेछ, तर म निकै ठूलो भ्रममा रहेछु । उहाँहरुलाई त भेट्न पनि गाह्रो छ । तर अब यो न्यायको लडाई उहाँहरु विरुद्धको पनि हो” कोपिलाले भनिन् ।
उनी भन्छिन्, “यो मुद्दा किन कसैले उठाउँदै भन्ने सोच्दैमा मैले लामो समय बिताएँ । अहिले आएर बल्ल बुझ्दै छु, यो अरुको लागि इज्जत जाने बिषय रहेछ । उहाँहरु लुकाउन चाहानु हुन्छ तर हामी बोल्न चाहान्छौँ । न्यायको लडाई हो, एक दिन सत्यको जित हुन्छ । भलै त्यो जित मैले देख्न नपाउँला !”
उनीहरुको संगठनले आफ्ना १२ बुँदे माग प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बुझाई सकेको छ । तर अहिलेसम्म उनले पनि कुनै चाँसो देखाएको देखिदैन । पिडितहरु भन्छन्, “जसले हामीलाई युद्धमा लगायो उहाँ नै राज्यको कार्यकारी प्रमुख हुनुहुन्छ । भेटमा उहाँले मैले नगरे कसैले गर्दैन, ढुक्क हुनुस् तपाईले न्याय पाउनु हुन्छ भन्दै गोहीका आँशु खसाल्ने बाहेक अरु कुनै काम गर्नु भएको छैन । हामी शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगोमा पुगोस् भन्ने चाहान्छौ । ”
बलात्कारलाई महिलाको समस्या ठान्ने सोचबाट परिवार, समाज र राज्य बाहिर निस्कनै पर्छ । त्यो सामाजिक बुझाइ र संरचनाको समस्या हो, जसले बलात्कार जस्तो जघन्य अपराध र सामाजिक कलंकलाई सामान्यीकरण गर्छ र अपराधीको मनोबल बलियो बनाइदिन्छ । त्यसकारण यस अपराधविरुद्ध पीडितमात्र होइन,समाजका हरेक सचेत नागरिकले आवाज उठाउनुपर्छ । तै चुप मै चुप किन ?